|

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकिएको छ। सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासमा माघ ४ गतेदेखि भइरहेको बहस आज अदालत सहयोगी (एमिकस क्युरी) गीता पाठकले राय दिएपछि सकिएको हो। 

सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले संसद विघटन मुद्दामा बहस सकिएको र यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थाहा खबरलाई जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट बुझाउन आग्रह गरेका छन् । 

‘बहस सकिएपछि फागुन १० गतेभित्र बहस नोट दिन पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशज्यूले आग्रह गर्नु भएको छ । फैसलाबारे त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा जाने र ११ गते र १२ गते जति पनि जानसक्ने भन्नुभएको हो’ पौडेलले भने।

त्यसअघि आफ्नो राय दिदै एमिकस क्युरी वरिष्ठ अधिवक्ता पाठकले वर्तमान संविधान बिरामी नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी थिइन् ।

संविधानको धारा अक्सिजन भएको बताउँदै संविधान बिरामी पनि नभएको र कोमामा पनि नगएको उनको तर्क छ। यसअघि प्रतिनिधिसभा विघटन सही भएको तर्क राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधान बिरामी परेको बताएका थिए।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.