१० वर्षमा ६५ लाख बढीले बनाए हरियो पासपोर्ट

|

काठमाडौं : हात-हातमा कागजपत्रको फाइल हाल्ने प्लाष्टिकको ब्याग छ। बिहानै ९ बजेदेखि युवाहरू लाइनमा छन्। अनुशासित भएर लाइन मिचिन्छ कि भन्दै अगाडि-पछाडि हेरिरहेका युवाहरू देखिन्छन्।

यतिखेर सुदुर पूर्वदेखि सुदूरपश्चिमका युवाहरू एकै ठाउँमा छन्। फिल्म हलमा टिकट काट्न, खाद्य सामग्रीको कुपन लिन नभई पासपोर्ट बनाउने युवायुवतीको लाइन हो।

कोभिड महामारी भए पनि हिजोआज नारायणहिटीदेखि पश्चिमको भागमा रहेको राहदानी विभागमा पासपोर्ट बनाउन आएका सयौं युवायुवतीको बिहानैदेखि भिड लाग्न थालेको छ। त्यहीँ भिडमा सिरहा कल्याणपुरका रामचन्द्र मण्डल भेटिन्छन्। उनी बिहानै बसपार्कबाट एक होटलमा झोला बिसाएर राहदानी विभागको लाइनमा छन्।

उनी साथीहरूसँग मेनपावर घुमेर राम्रो डिमान्ड आएमा पासपोर्ट पेस गरेर गाउँ जाने योजनामा छन्। एक सातामा पासपोर्ट निस्किने गरी पासपोर्टका लागि आवेदन दिएका छन्।

२२ वर्षीय मण्डललाई पनि गाउँका सबै साथी वैदेशिक रोजगारमा गएपछि पासपोर्ट बनाउने हुटहुटी जागेर आयो। १० कक्षासम्म पढेका उनी अब चाँडै विदेश जाने सोचमा छन्। 

घरमा मण्डलसहित पाँच जना छन्। उनी जेठा छोरा हुन्। आर्थिक अवस्था कमजोर भएकाले उनीमाथि स्वाभाविककै जिम्मेवारी बढी छ। पहिलोपटक काठमाडाैं छिरेका उनले ल्याएको १८ हजार रुपैयाँ पनि ऋण काढेरै हो। 

'नेपालमा पढे काम पाइन्न र मजदुरी गरेर कमाएको पैसाले जीवन चल्दैन,' भन्छन्, 'आफ्नो मुलुकमा रोजगारी अभाव छ, आवश्यकता पूरा गर्न पासपोर्ट बनाउन आएँ, दुःख लागेको छ।'

नेपालका धेरै युवा इच्छा र रहरै-रहरमा बर्सेनि विदेश जान्छन्। धेरैजसोको रहरभन्दा पनि बाध्यता बनेको छ विदेश।

'महामारीले जागिर गुम्यो, राम्रो अवसर पाउनेबित्तिकै विदेश जान्छु'

मोरङकी २३ वर्षीय लक्ष्मी थापाको योजना लकडाउन अगाडि पासपोर्ट बनाउने थियो। कोरोना महामारी नभएको भए उनी यतिखेर आफ्नै देशमा काम गरिरहेकी हुन्थिन्। लकडाउन खुलेसँगै देशमा कोभिडको त्रास घट्दै गएपछि सुन्दरहरैंचा नगरपालिकामा स्थायी बसोबास गर्दै आएकी थापा पनि पासपोर्ट बनाउन आइन्।

बौद्धमा आफन्तकहाँ बस्ने गरेकी उनले कोभिड महामारी अगाडि एक म्यानपावरमा काम गर्ने गरेको पनि बताइन्। भन्छिन्, 'लकडाउन खुलेपछि भएको काम पनि छुट्यो, अहिले काम नगरी बसेको छु, राम्रो कामको डिमान्ड आए विदेश जान्छु।'

थापा भन्छिन्,' स्वदेशमा रोजगार पाउँन सके अर्काको मुलुकमा गएर दुःख गर्दिन थिए। काम अनुसारको मूल्य नपाएर विदेश जान खोजिरहेको छु। राम्रो अवसर पाएमा जतिखेर पनि विदेश जान सक्छु।'

बर्सेनि राहदानी विभागबाट ५० हजारको हाराहारीमा पासपोर्ट बन्ने गरेको छ। विभागका अनुसार नेपालबाट तीन थरीका पासपोर्ट जारी हुने गर्छ। कूटनीतिक (रातो पासपोर्ट), सरकारी विशेष पासपोर्ट (निलो पासपोर्ट) र सर्वसाधारणले प्रयोग गर्ने (हरियो पासपोर्ट) जारी हुने गरेको छ। शरणार्थीलाई ट्राभल डकुमेन्ट दिने गरेको र त्यसलाई भने विभागले पासपोर्ट मान्ने गरेको छैन।

पछिल्लो समय लकडाउन खुलेपछि राहदानी बनाउने मानिसको संख्या बढदै गएको विभागका निर्देशक राजेन्द्र पाण्डे बताउँछन्। उनका अनुसार सबैभन्दा बढी राहदानी बनाउन आउनेमा मधेशका नागरिक आउने गरेका छन्। दैनिक ७ देखि ८ सयले राहदानी बनाउने गरेका छन्।

पाण्डे भन्छन्,' झापा,मोरङ, सुनसरी, सप्तरी, सिराहा र सर्लाहीलगायत जिल्लाका मानिस आउने गरेका छन्। धेरैजसो राहदानी हराएर आउँछन्, राहदानीको समय सकिएर पनि र मेनपावरका दलालले लिएर फिर्ता नदिएका जस्ता समस्या लिएर आउँछन्।' राहदानीको राजश्व तिर्ने गरी बिहान ९ बजेदेखि कार्यालय परिसरमा सेवाग्राही प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

सर्वसाधारणले प्रयोग गर्ने १० वर्षमा ६५ लाखभन्दा बढी पासपोर्ट जारी

१० वर्षमा सबैभन्दा बढी सर्वसाधारण नागरिकले प्रयोग गर्ने हरियो पासपोर्ट जारी भएका छन्। हरियो पासपोर्ट ६५ लाख ३ हजार ९ सय ९३, विशेष पासपोर्ट १८ हजार १ सय २६, कुटनीतिक पासपोर्ट ५ हजार ५ सय ६२ र शरणार्थीले प्रयोग गर्ने ट्राभल डकुमेन्ट १ हजार ७ सय १० जारी भएका छन्। कुल ६५ लाख २९ हजार ३ सय ९१ राहदानी बनिसकेका छन्। ५१ लाख ४ हजार ३ सय ६९ पुरुष, १४ लाख २४ हजार ९ सय ८५ महिला र अन्यमा ३७ जनाले लिएका छन्।

पुस र माघ महिनामा मात्र ४५ हजार ३ सय २९ जनाको लागि राहदानी जारी छ।

विभागका अनुसार २०७६/०७७ को आर्थिक वर्षमा १ अर्ब ५५ करोड १५ लाख १५ हजार ८ सय ३९ रुपैयाँ राजश्व संकलन गरेको थियो। साउन देखि माघ सम्म ५८ करोड २८ लाख ६५ हजार ७ सय ६२ संकलन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.