|

काठमाडौं : सरकारले सर्वोच्चका न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तलाई ‘विषेश सुरक्षा’ व्यवस्था गरेको छ। पूर्व प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुको सुरक्षा व्यवस्था कटौती गरेपनि सरकारले संवैधानिक निकायका पदाधिकारीहरुको भने विशेष सुरक्षा व्यवस्था गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश तथा प्रमुख निर्वाचन आयुक्त र आयुक्तका कामकारबाहीमा दबाब र असर पुग्ने गरी सडकमा दैनिकजसो प्रदर्शन हुन थालेको भन्दै नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता बढाएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिकजसो सडकमा हुने प्रदर्शनका कारण उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर संवैधानिक निकायका पदाधिकारीहरुको सुरक्षा व्यवस्था बढाउनुपरेको बताए।

‘संसद विघटनविरुद्धको मुद्दा सर्वोच्चमा चलिरहँदा र सरकारले निर्वाचन आयोगले निर्वाचनको तयारीमा जुटेकोबेला न्यायाधीश र आयोगका पदाधिकारीको सुरक्षामा बढी सावधानी र सतर्कता अपनाउने निर्णय भएको छ’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भने। निर्वाचन आयोगको अनुरोधमा प्रमुख आयुक्त र आयुक्तहरूलाई नियमितबाहेक नेपाल प्रहरीबाट अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय र निर्वाचन केन्द्रित कार्यक्रमको सुरक्षामा पनि सोहीअनुसार विशेष प्रबन्ध मिलाउन गृहले निर्देशन दिएको छ। त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटपछि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूको आवागमनमा पनि प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ। पछिल्लो समय मन्त्रिपरिषबाट संशोधित विशिष्ट व्यक्तिरुको सुरक्षासम्बन्धी कार्यविधिमा पूर्वपदाधिकारीको सुरक्षासमेत कटौती गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.