|

काभ्रे : काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाको ओली समूहका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ। 

गाउँपालिकाको(५ नम्बर वडा कमिटी विस्तार गर्ने कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकि राखिएको बा १५ च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो। 

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्न लागेको अवस्थामै राति साढे १० बजे गाडीमा तोडफोड गरेका थिए।

गौतमकाअनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए। ‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो’ गौतमले भने। 

उक्त घरमा नेकपाका केन्द्रीय सदस्य चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बसेको थियो।  गौतमकाअनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न प्रचण्ड–माधव समूहका नेताले धम्की दिइरहेका थिए। 

‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’, भन्दै धम्कीपूर्ण भाषामा दाहाल–नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताए। गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन्। 

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। ‘छापामार शैलीमा आक्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो जंगली हर्कत सफल हुने छैन। विरोध गर्न पाइन्छ तर, विरोधका नाममा आक्रमण हैन', बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्।

कोशीपूर्वस्थित उक्त गाउँपालिकामा नेकपाले सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखिनै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवं युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईंले बताए। उनका अनुसार गाउँपालिकाको कात्तिकेदेउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.