|

काठमाडौं : काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुनः परीक्षण थालिएको छ। खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्विच थिचेर सुरुङ पुनः परीक्षण थालिएको हो। 

सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो। गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो। अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए। 

सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन्। यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्यांकीमार्फत पाइपमा पानी पुग्छ।

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा असार ३० मा दुर्घटना भएको थियो। पहिलो पटक दुर्घटना भएपछि आवश्यक तयारीको साथमा दोस्रो पटक सुरुङ परीक्षण थालिएको छ। 

दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.