|

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर तीन लम्सराङका ६४ वर्षका ओमप्रसाद घर्तीको सुन्तला बगैँचामा करिब ५ सय बिरुवा छन्। ती मध्ये १ सय भन्दा धेरै बिरुवाहरूमा फल लाग्न थालेको छ।

घर्तीलाई बगैँचा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा थाहा थिएन। पुरानै शैलीमा बिरुवा लगाएको र बगैँचा सुदृढीकरणमा यसअघि आफूले ध्यान नदिएको उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई गुल्मीले कृषकको बगैँचामा गई कसरी बगैँचा सुदृढीकरण गर्ने भन्नेबारे प्रयोगात्मक तरिकाबाट जानकारी गराएपश्चात आफूहरूलाई धेरै ज्ञान हासिल भएको घर्ती बताउँछन्।

यस्तै, सोही स्थानकी ४८ वर्षकी रेनु श्रीषको बगैँचामा पनि करिब २ सय २० बिरुवा छन्। उनलाई पनि कुन समयमा बिरुवा काँटछाँट गर्ने, मलजल राख्ने भन्नेबारे थाहा थिएन।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बगैँचामै आई बिरुवा काँटछाँट गर्ने, मलजल गर्ने तरिका र निलो तुथो लगायतका विषादी राख्नेबारे जानकारी पाएपछि सहज भएको उनी बताउँछिन्। उनीले आफूहरूलाई अझै धेरै सीप र तालिम आवश्यक रहेको बताइन्‌।

यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले यो समय फलफूलका बिरुवामा मलजलसँगै बगैँचा सुदृढीकरण गर्ने समय भएको जानकारी दिए।

कृषकहरूलाई उनीहरूको बगैँचामा नै गई बिरुवा काँटछाँटसँगै मलजल गर्ने तरिका र विषादी प्रयोगबारे प्रयोगात्मक तरिकाबाट जानकारी गराउँदा प्रभावकारी हुने भएकाले आफूहरूले यस्तो अभियान चालेको उनले दाबी गरे।

जिल्लाका ८ स्थानीय तहहरू मुसिकोट,रेसुंगा नगरपालिका, धुर्कोट,मदाने,गुल्मीदरबार, छकोट, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकाका २४ वटा वडाहरूमा  यसरी  बगैँचा सुदृढीकरणको अभियान नै संचालन गरिएको कार्यालयले जनाएको छ। जिल्लामा कूल ८८८ हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको छ। 

यस वर्ष ४० प्रतिशत सुन्तला उत्पादनमा कमी

गुल्मीमा यसवर्ष अघिल्लो वर्षभन्दा ४० प्रतिशत सुन्तला उत्पादनमा कमी आउँने अनुमान गरिएको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष सात हजार २२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष झण्डै ४० प्रतिशत सुन्तला उत्पादनमा कमि आउँने अनुमान गरिएको काफ्लेले जानकारी दिए।

गत बैशाखमा असिनाले फूल र दाना झारिदिएकाले उत्पादनमा कमी आएको काफ्लेको दाबी छ। अझै पनि कृषकहरूको सुन्तला बोटमा रहेको र टिप्न बाँकी रहेकाले  फागुन महिनाको अन्तिमसम्म वास्तविक विवरण आउने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.