एक सिजनमै कम्तिमा २ लाख आम्दानी

|

काठमाडौं : धन कमाउने लक्ष्य बोकी ९ वर्षअघि मलेसिया पुगेका थिए ओखलढुंगाका मनबहादुर तामाङ। तर, त्यहाँ पुगेपछि स्वास्थ्यमा समस्या देखियो। सम्पत्ति कमाएर सजिलैसँग परिवार पाल्ने उनको आकांक्षा पूरा भएन। अनि देश फर्किए।

मलेसियाबाट फर्किएपछि फेरी रोजगारीकै खोजीमा भारत छिरे। त्यहाँ चार वर्ष बसे। तर, सोचेअनुसार कमाउन सकेनन् उनी। दुःख र संघर्षमा खारिएका ३८ वर्षीय मनबहादुरले नेपालमै केही न केही त गर्न सकिन्छ भन्ने सोच लिए। पेशा धेरै छन्।

तर, कुन पेशा अंगाल्ने? उनले रोजे - दुबो खेती।

२०७४ सालमा गाउँबाट उनी काठमाडौं आए र दुबोखेती शुरू गरे। भन्छन्‌, ‘काठमाडौं जस्तो शहरमा कहाँ आफ्नो जग्गा हुनु! भाडामा लिएर दुबो खेती गरे। अरूले यस्तो खेती गरेको देखेर सजिलो छ जस्तो लाग्यो र यो काममा आकर्षित भएँ।’

उपत्यकाका विभिन्न सभा-सम्मेलन, पार्टी प्यालेस र ठूला महललाई दुबोले सजाइन्छ। बाह्रै मास हरियाली देखिन्छ। मनबहादुरले उमारेको दुबो पनि यस्तै सजावटका लागि अहिले धमाधम बिक्री भइरहेको छ। दुबो बिकेपछि उनी निकै खुशी देखिन्छन्‌।

गोकर्णस्थित बंगालामा बसिरहेका मनबहादुरले त्यहाँ तीन रोपनी जग्गामा दुबो खेती गरिरहेका छन्। यसअघि हुर्किएको दुबो बेचिसकेकोले उनी अहिले फेरि दुबो रोप्दैछन्। बोल्न समेत उनलाई फुर्सद छैन।

‘दुबो खेती गर्न सजिलो छ?’ साबेलले माटो ओसार्दै उनी जवाफ फर्काउँछन्, ‘काम भन्ने चीज सबै कहाँ सजिलो हुन्छ र? गाह्रै छ। साधारण माग आयो भने काम हलुका हुन्छ। धेरै माग आयो भने चाहिँ काम गर्न गाह्रै पर्छ।’

यसरी गरिन्छ दुबोखेती

मनबहादुरका अनुसार सबैभन्दा पहिले जमिनको सतह समथर बनाउनुपर्छ। पानी जम्न दिनुहुँदैन, निकास बनाउनुपर्छ। सबै डल्ला फुटाएर माटो मलिलो बनाउनुपर्छ। त्यहाँ दुबो काटेर रोप्नुपर्छ। त्यसमाथि अर्कोपटक माटो छर्केर पुर्नुपर्छ।

‘पहिला बीउ ल्याएर छर्नुपर्छ,’ उनले भने, ‘पछि आफ्नैमा बीउ हुन्छ, त्यही काटेर रोप्न सकिन्छ। माटोमाथि रोप्नुपर्छ। कोदो रोपाइँ जस्तै हो। बेला–बेला पानी हाल्नुपर्छ। यसलाई चाइनिज दुबो भनिन्छ।’

उनका अनुसार दुबो रोपेको तीन महिनापछि बिक्रीका लागि तयार हुन्छ। यो सिजनमा रोपियो भने ६ महिनासम्म समय लाग्न सक्छ। बर्खायाममा भने खेतीमा समस्या आउने गरेको उनी बताउँछन्‌।

​‘बर्खामा धेरै पानी पर्ने भएकाले दुबोमा कालो दाग आउँछ, मल हालेर स्याहार्नुपर्छ,’ उनले भने। अरू पेशाको तुलनामा दुबोखेती गर्न सजिलै हुने उनको अनुभव छ। 

एक सिजनमै कम्तिमा २ लाख आम्दानी

मनबहादुरले वर्षको तीन पटकसम्म दुबो बिक्री गर्ने गर्छन्‌। ‘एक लटको दुबो बेच्दा २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले सुनाए, ‘बढी बिक्री हुने सिजन अहिले नै हो।’

उनले शुरूमा ३ लाख रुपैयाँ लगानी गरेका थिए। एक वर्षमै आफूले लगानी उठाएको उनले बताए।

‘जग्गा भाडाबापत वार्षिक ६० हजार रुपैयाँजति तिर्छु, दुबो लिन नर्सरीवाला पनि यहाँ आउँछन्‌, त्यही भएर बेच्न सजिलो छ। स्क्वायर फिटको आधारले बेच्छु। एक स्वाक्वएर फीटको २५ रुपैयाँ लिन्छु। यही कमाइले छोराछोरीलाई पढाउँदै आएको छु। राम्रैसँग परिवार पाल्न सकेको छु,’ उनले भने।

हाल उनीसहित ४ जनाको परिवार पालिन दुबो खेतीबाट भइरहेको आम्दानी पर्याप्त छ। एउटी छोरी कक्षा ९ मा पढ्छिन्‌, छोरा ७ कक्षामा। दुबो खेतीसँगै अब तरकारी खेती गर्ने सोच पनि बनाएका छन् उनले।

अहिलेको समयमा धेरै युवाहरू विदेश पलायन हुने गर्छन्। ती युवाहरूलाई उनी सुझाव दिन्छन्‌, ‘विदेशमा मात्रै पैसा कमाइन्छ भन्ने छैन। बचत गर्न सक्नुपर्छ, नेपालमै पनि कमाउन सकिन्छ। देशमै थुप्रै सम्भावना छन्‌। यहीँ परिश्रम गरे प्रतिफल जसरी पनि पाइन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.