|

काठमाडौं : रुकुम र रोल्पालाई माओवादीको १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा लिइन्छ। तत्कालीन नेकपा माओवादीले जनयुद्धको केन्द्र पश्चिम कर्णालीका दुर्गम जिल्लालाई बनाएको थिए। सशस्त्र जनयुद्धको डोब सबैभन्दा बढी त्यहीँका जनताले भेटेका थिए।

मुलुकमा जनयुद्ध सकिएपछि माओवादी सत्तामा आयो। रुकुम, रोल्पा र जाजरकोटका मानिसले दुःख जान्छ भन्ने सोचेका थिए तर, त्यसविपरीत गरिबी र अशिक्षाको रेखा वृद्धि भइरहेको छ।

माओवादीले मुलुक सञ्चालन पनि गरे,नेताका जीवनशैली फेरिए तर, रुकुमबासीका दुःख जहाँको त्यहीँ छ। कर्णालीमा धेरै पानी बगे, तर, दुःख बगेर गएन। अझ किनाराका रहेका गाउँका तन्नेरी रित्तिँदै गएका छन्।

जीवनमा कर्णाली नदी नतरेकाहरु युद्धका घाउलाई बिर्सँदै त्यहाँका युवाहरु अहिले सात समुद्र पारि जाने सपना देख्दै काठमाडौं आउन थालेका छन्। धेरै युवा अरबको तातो मरुभूमिमा पसिना चुहाउँदै आफ्ना श्रम बेचिरहेका छन्। कतिपय युवा 'सपनाको देश' अमेरिका पनि गइसकेका छन्।

रुकुम बाँफिकोट ७ का २४ वर्षीय युवा मनराज खत्री पहिलोपटक दुई दिनको बस यात्रामा काठमाडौं आएका छन्। उनले गोंगबु बसपार्कलाई मात्र अन्तिम गन्तव्य बनाएनन् राहदानी विभागलाई पनि बनाए। उनले विभागबाट बनाएको पासपोर्टले अबको नयाँ गन्तव्य  तय गर्नेछ। 

उनी एक सातादेखि काठमाडौंमा बसिरहेका छन्। तर, घुम्न पनि आएका होइनन्, निर्वाचन क्षेत्रबाट जितेर आएका न कुनै जनप्रतिनिधिलाई नै भेट्न आएका छन्। मनराज त केवल पासपोर्ट बनाउन आएका हुन्।

मनराज ४० हजार रुपैयाँ ऋण बोकेर आए। पासपोर्ट बनाउन आएका उनले मासिक १२ सय रुपैयाँ ब्याज तिर्ने गरी ऋण खोजेर आएका छन्। गाउँमा रोजगारीको अवसर नहुँदा र परिवारमा एक्लो छोरा भएकोले जिम्मेवारी बढ्दै गएकोले विदेश जाने सपना बोकी काठमाडौं आएका छन्।

कक्षा १२ पास गरेका मनराज नेपालमा रोजगारको अवसर नपाइने बताउँछन्। उनले विज्ञान विषयमा १२ कक्षा पास गर्दा पनि भनेजस्तो अवसर नपाएको र जिल्ला छोडेर सुविधा सम्पन्न ठाउँमा गएर पढ्न नसक्दा पढाइ छाडेको उनी सुनाउँछन्।

'सुख्खा डाँडा हेरेर मात्र जीवन चल्दैन'

उनको घरमा आर्थिक अवस्था कमजोर भएकोले बिचमा पढाइ छाडेका छन्। उनी सहित परिवारमा १० जना छन्। चार दिदीबहिनीलाई पढाउने जिम्मा र हुर्कंदै गरेको साना नानीलाई हुर्काउने र अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भएकोले वैदेशिक रोजगारीमा जाने उनले सोच बनाएका छन्।

'गाउँकै चिनेको मानिसको लहैलहैमा काठमाडौं आएको छु। चिनेको मानिसले क्रोएसिया पठाउँछु भनेकाले पासपोर्ट बनाउन आएको हुँ। आठ लाख लिएर विदेश लान्छु,' भनेका छन्,' मनराज सुनाउँछन्,' ऋण खोजेको पैसाले विदेश जान लागेको छु। वर्क परमिट आएपछि ५० हजार मागिरहेका छन्। नयाँ ठाउँमा आइएको छ। यहाँ कसलाई विश्वास गर्न सकिन्छ र साथीको विश्वासमा आएका छौ।'

विदेश पठाउने एजेन्ट म्याग्दीका छन भन्ने उनले सुनेका रहेछन्। उनलाई एजेन्टको नाम र अनुहार थाहा छैन। आठ लाख तिरेर विदेश किन जान लाग्नु भएको भन्ने प्रश्नमा खत्री भन्छन,' नेपालमा रोजगारीको अवसर छैन। गाउँमा जागीर खोजुम भने नेताले सबै आफ्नै मान्छे भर्ती गर्छन्। रुकुमका सुख्खा डाँडा हेरेर  मात्र परिवार र सन्तानको जीवन नचल्ने रहेछ। यहाँको मेहनत भन्दा विदेशको मेहनतमा बढी कमाइ हुन्छ।'

'क्रान्तिले गाउँमा बस्नुभन्दा विदेश जाने बाटो खोलिदियो'

मनराजका गाउँपालिकाका सबै जनप्रतिनिधि तत्कालीन माओवादीका छन्। बाफीकोटमा हरेक घरका मानिस माओवादीप्रति आस्था राख्छन्। तर, जनताको दुःखका सहारा बन्छु भनी सुरु गरेका जनयुद्धले विश्राम लिइसकेको छ। जसले जनताको सहारा लिए तिनैले जनतालाई चिन्न छोडेकोमा उनी गुनासो गर्छन्।

क्रान्ति सक्यो नेता आफ्नै लयमा लागे बाफीकोटका जनताको भने दुःख नहटेको उनी सुनाउँछन्। गाउँका हरेक युवाको जीवनको सहारा पासपोर्ट बन्दै गएको छ। एक दशक अघि रुकुमबाट सुरु भएको क्रान्तिले गाउँका युवाहरूमा खासै परिवर्तन ल्याएन जस्तो लाग्दोरहेछ उनलाई। 'क्रान्तिले मुलुकको न मुहार फेरियो न त जनताको जीवनशैली। प्रत्येक युवामा वैदेशिक रोजगारमा जानुपर्छ भन्ने दरिलो भावना जागृत भएर बसेको छ,' उनले भावुक हुँदै भने।

बाफीकोटमा ५० किलो चामलको २५ सय पर्छ। खाद्य सामग्रीको महँगीको ग्राफ चुलिँदो छ। दुई सन्तान छन् तिनीहरुलाई राम्रो शिक्षा दिनको लागि भए पनि विदेश जानुपर्ने उनको बाध्यता छ। दुर्गममा बसोबास र आर्थिक अभाव भएकै कारण उनको पढाइमा सदाको लागि पूर्ण विराम लागेको थियो।

'मुखले मागेको भरमा ऋण पाइन्छ'

बाफीकोटको सबैभन्दा रोचक पक्ष उनी भन्छन,' मौखिक कै भरमा ऋण पाइन्छ। ऋण लिन कागज गर्नु पर्दैन। ऋण चाहियो भनेपछि ब्याज तिर्ने सर्तमा सहजै ऋण पाइन्छ। गाउँका धेरै मानिसको ऋण तिर्ने आधार भनेको वैदेशिक रोजगार रहेको छ।'

हिजोआज गाउँमा तन्नेरीहरू विरलै मात्रामा भेटिने गरेको मनराज बताउँछन्। पढाइ छाडेर बसेकाहरु रोजगारका लागि भारततिर जान्छन् कि अरब र मलेशिया जान्छन्।

उनका गाउँका केही साथीहरु ४०-५० लाख तिरेर अमेरिका पनि गएका छन्। साथीहरु विदेश जाने थालेकाले उनमा पनि वैदेशिक रोजगारमा जाने हुटहुटीले छोएको छ। 'हाम्रो गाउँका मानिस ऋण खोज्न डराउँदैनन्,' उनले भने,' ऋण पाए जति ब्याज तिर्न पनि तयार हुन्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.