ओलीपक्षीय कार्यकर्ताको सक्रियता बढ्दो

|

पर्वत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षमा रहेकाहरूले गत शनिबार जिल्लाका ६१ वटै वडामा विस्तारित भेला गर्‍यो। पार्टीभित्रको विवादपछि एकाएक तरङ्गित राजनीतिक माहौलबीच चुनावी सरगर्मी पनि सुरु हुँदै गएको छ।

यही परिवेश बीचमा ओली पक्षका नेता तथा कार्यकर्ताहरू चुनावी माहोल नै तयार पार्न तथा विवादपछिको संगठन सुधारमा लागिरहेका छन्। यसैका लागि पर्वतका सात वटै स्थानीय तहका सबैजसो वडामा भेला गरेर नेतृत्व नभएका ठाउँमा नयाँ नेतृत्व चयन गरिएको र भएका रिक्त पदमा नयाँ सदस्य थप गरेर पूर्णता दिने काम भइरहेको ओली पक्षमा रहेको नेकपा पर्वतका सचिव सचिव गोविन्द पहाडी बताउँछन्।

आउँदो फागुन १५ गते प्रधानमन्त्री केपी शर्मा ओली गण्डकी प्रदेशको राजधानी पोखरामा हुने कार्यक्रममा सहभागी हुन आउने भएका कारण पनि पोखराको आसपासमा जिल्लामा ओली पक्षधर नेता तथा कार्यकर्ताको सक्रियता बढेको छ।

नेकपाभित्र भीड जम्मा पारेर एकले अर्कोलाई शक्ति देखाउने प्रतिस्पर्धा चलिरहेको बेलामा ओली पक्षले पोखरामा विशाल भीड देखाउनकै लागि ओलीपक्षीय कार्यकर्ताको सक्रियता यति बेला बढिरहेको छ।

पोखरामा हुने कार्यक्रममा पर्वतबाट पनि ठूलो सङ्ख्यामा जनसहभागिता देखाउन लागि पनि ओली पक्षको सक्रियता बढेको हो। ‘हामी पार्टीको संगठन विस्तारमा लागिरहेको छौँ। चुनाव पनि नजिकिँदै गएको बेलामा आवश्यक तयारी पनि त ग्रास रुट लेबलबाटै थाल्नुपर्‍यो,’ सचिव पहाडीले भने, ‘फेरि फागुन १५ मा प्रधानमन्त्री ओली पोखरा आउँदै हुनुहुन्छ। यसको तयारीको लागि पनि सक्रियता बढेको हो। पोखरामा हजारौँ मानिस सहभागी भएको कार्यक्रम हुँदै छ।’ 

पार्टीभित्रको एउटा पक्षले काम गर्न नदिएर प्रधानमन्त्रीलाई बाध्यात्मक परिस्थितिमा लगेका कारण संसद् विघनटको अवस्था आएको भन्दै यो पक्षले नागरिकलाई आफ्नो पक्ष ठिक रहेको साबित गर्न लागिपरेको छ। प्रचण्ड—नेपाल पक्षले गरिरहेको आन्दोलनको कुनै तुक नभएको बताउँदै यो पक्ष नागरिकको माझमा डुलिरहेको छ। 

ओली समूहले चुनावको तयारी, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम लगायतको तयारीबारे राजनीतिक सक्रियता बढाएको बेला नेकपा अर्को पक्ष प्रचण्ड—नेपाल पक्ष भने विरोधका कार्यक्रममा सक्रिय छ।

माथिबाट आउने आदेशअनुसार जिल्लामा हरेक विरोध कार्यक्रमहरू गरिरहेको र त्यसबाहेक आम नागरिकलाई पनि संसद् विघटन गरिनु गलत कदम भएको बुझाउन लागिपरेको प्रचण्ड—नेपाल पक्षका नेता तथा नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरी बताउँछन्।

‘नागरिकले पाँच वर्षको लागि दुई तिहाइको मत दिएर पठाएका छन्। त्यो मत पाँच वर्षका लागि थियो। तर एउटा व्यक्तिको स्वार्थ र सनकका कारण जनताको मतको अवमूल्यन भएको छ,’ गिरी भन्छन्, ‘हामी संवैधानिक कुविरुद्ध आन्दोलनमा निरन्तर लागिपरेका छौँ। संविधानभन्दा माथि कोही पनि हुनै सक्दैन भनेर जनताको माझमा डुलिरहेका छौँ।’ 

प्रचण्ड—नेपाल पक्षका नेता तथा जिल्लाको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले नेकपाको संस्थापन र संस्थागत पक्ष आफूहरू नै रहेको बताउँदै वर्तमान प्रधानमन्त्रीले गरेको असंवैधानिक निर्णयको विरोधमा आफूहरू उत्रिनुको विकल्प नरहेको बताए। ७० वर्षदेखि लडाइँ गरेर जनताको साथ पाएपछि समाजवादको बाटोमा हिँडिरहेको पार्टी र देशलाई दुर्भाग्यमा हालेको शर्मा बताउँछन्। 

‘खड्गप्रसादले संविधान कार्यान्वयनमा दुर्भाग्य गराएका छन्। यो संसद् विघटन मात्रै होइन संविधानको पनि विघटन नै हो। संविधानलाई बचाउन हामी लागि परेका छौँ। बहुमत केन्द्रीय सदस्यले दिएको म्यान्डेट नमान्ने भन्ने हुन्छ?’ उनले भने, ‘स्वार्थका लागि गरिएको निर्णय गलत छ भने नागरिकलाई बुझाउन हामी लागिपरेका छौँ। यो देश १/२ जना व्यक्तिको निर्णयमा बर्बाद हुनबाट जोगिनु आवश्यक छ। हामी निरन्तर आन्दोलनमा नै छौँ।’ 

नेकपाभित्रको विवाद चलिरहेकै बेलामा पर्वतमा दुवै पक्षले आ—आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरू जम्मा पारेर प्रशिक्षण तथा भेला पनि गर्दै आएका छन्। नेकपाको पार्टी कार्यालयमा दुवै पक्षले कार्यक्रमहरू नराखेको भए पनि बाहिर होटेल तथा सभाहलहरुमा उनीहरूले फरक—फरक कार्यक्रमको आयोजना गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.