|

जाजरकोट : आइतबार अपरान्ह तीन वजे छेडागाड नगरपालिका-१ का ८ वर्षीया देखि १५ वर्षीया छात्राहरू जंगलमा हँसिया र नाम्लोसँग भेटिए।

सडककै छेउमा रहेको जंगलमा भेटिएका सबै छात्राहरू कक्षा ३ देखि ९ सम्म अध्ययनरत हुन्‌। उनीहरू कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्छन्‌। 

विहान घाँसदाउरा गरेर विद्यालय पुग्ने उनीहरू कक्षा सकिएपछि बाटैमा राखेको हँसिया र नाम्लो लिएर घाँसदाउरा गर्न फेरि वन पस्छन्‌।

​कक्षा ६ मा पढ्ने कालिका रानाले भनिन्‌, 'घरमा आमा हुनुहुन्छ, दाइ र बाबा भारततिर जानुभएको छ, आमालाई घाँसदाउरामा सघाउन जंगल आएको हुँ।'

रानासँगै कक्षा ९ मा अध्ययनरत छात्रा रविना बुढाले घरमा नास्ता समेत नखाइ सिधै जंगलमा आएको बताइन्‌। उनले भनिन्‌, 'विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता धेरै लाग्छ, पढाइ पनि बिग्रिरहेको छ, विद्यालयमा पढाएको कुरा घरमा आएर हेर्न समेत पाउँदिन, कामको चापले गर्दा हैरान भएको छु।' 

कोरोना महामारीपछि बल्लतल्ल विद्यालय खुलेपनि विद्यार्थीहरू कामकाजमा बाँधिँदा घरमा पढ्न पाउँदैनन्‌। परिवार विपन्न भएको र काम नगरे चुल्हो नबल्ने हुनाले पढ्न नपाएको घाउ जति दुखेपनि सहनुपर्ने बाध्यता छ।

'विद्यालयमा पाठ्यक्रम समेत थोरै पढाइ भएको छ, घरमा पढ्ने वातावरण छैन,' अर्की छात्रा मेलिना थापाले भनिन्‌, 'न घरको काम राम्रोसँग हुन्छ, न त विद्यालयको पढाइ नै, विद्यालयबाट ल्याएको गृहकार्य समेत गर्न नपाउँदा परीक्षामा अंक राम्रो आउँदैन।'

घरायसी काममा समय बढी बिताउनुपर्ने बाध्यताका कारण आफूहरूको पढाइ प्रभावकारी हुन नसकेको विद्यार्थीहरू बताउँछन्‌। अभिभावकले समेत छोरीहरूलाई घरमा पढाइभन्दा काममा बढी लगाउने गरेको दु:ख उनीहरू पोख्छन्‌। घरमा खाना पकाउनेदेखि घाँस दाउरासम्मको काममा छोरीलाई नै लगाउँदा पढाइ प्रभावित हुने गरेको सजिलै थाहा लाग्छ।

छोरासरह छोरीलाई नि पढाउनुपर्छ भन्ने चेतना विकास नहुँदा छोरीहरू काममा व्यस्त हुनुपर्ने बाध्यता रहेको स्थानीय लालुमाया थापाले बताइन्‌। यो समस्या जिल्लाभर नै रहेको महिला अधिकारकर्मीहरू बताउँछन्।

छोरा र छोरीबीच समान व्यवहार हुनुपर्ने अधिकारकर्मी धर्मशीला बस्नेत बताउँछिन्‌। उनले भनिन्‌, 'मुखले बोलेर मात्र हुँदैन, व्यवहारमा समेत समान हुनुपर्छ। छोरीलाई अझै पनि घाँसदाउरामा जोताउने र बाध्यताले मात्रै विद्यालय पठाउने गरिएको छ, विद्यालयबाट छोरा आएपछि मीठो खाना खाएर खेल्न निस्कन्छन्‌, छोरीहरूलाई डोकानाम्लो बोकाएर भीरपाखामा पठाइन्छ, यो सरासर विभेद हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.