|

सल्यान : बत्ती मुनिको अँध्यारो भनेझैं छिमेकी जिल्लाहरु दाङ, बाँके, बर्दिया र सुर्खेतसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ। 

छिमेकी जिल्लाका नागरिक बत्तीको झिलिमिलिमा रमाएको वषौंको प्रतीक्षापछि गाउँपालिका केन्द्रसम्म बिजुली पुग्दा खुसियाली छाएको छ। अन्य ठाउँमा बिजुली बत्ती बलेको देख्दै आए पनि वैकल्पिक ऊर्जाको सहारामा जीवन चलाउँदै आएको वषौंपछि आफ्नै गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय नाँचगान गरी रमाएका छन्।

स्थानीयले गाउँमा बिजुली आएको खुसियालीमा सोरठी, टप्पालगायत मौलिक लोक कला संस्कृति प्रदर्शन गरेका हुन्। पहिलो पटक विद्युत् आएपछि अब विकासका धेरै सम्भावना खुला भएको स्थानीय शशिराम ओलीले बताए। 

उज्यालो कालिमाटी गाउँपालिका अभियान संचालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बाल्न सफल भएको हो। एक करोड ३८ लाख रुपैयाँको लागतमा २०७६/०७७ को स्वीकृत बजेटअन्तर्गत कालिमाटीमा विद्युत् विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरख बहादुर थापाले जानकारी दिए।

दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरीमा उज्यालो छाउने छ भने यस विद्युत् लाइनले तीन हजार घरधुरीलाई सुविधा प्रदान गर्ने छ। 

यसअघि वडा न १ को लक्ष्मीपुरमा करिब ५ सय सय घरधुरीमा र वडा न ३ को लामिडाँडाको ४० बढी घरधुरीमा बिजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए। 

केही सातामै ४ करोड ५२ लाखको लागतमा बाँकी रहेका वडामा विद्युतीकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ। विद्युत् सहकारी र गाउँपालिकाको साझेदारीमा योजना सञ्चालन हुन लागेको उपाध्यक्ष सनसिल्ता वली डिसीले बताइन्। साथै गाउँपालिकाकै ४० लाख रुपैयाँ लागतमा यस वर्ष नै थप काम हुने उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.