अख्तियारी पाएका निकाय नै चलायमान भएनन्

|

मानबहादुर विश्वकर्मा

कालिकोट : करिब एक वर्षअघि कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले एक लाख घुस लिएको अडियो सार्वजनिक भयो।

गाउँपालिका अध्यक्षले नै घुस लिएको अडियो सार्वजनिक भएपछि चौतर्फी रुपमा चर्चा पायो। तर चर्चा बिस्तारै हरायो। अख्तियारको जिम्मेवार निकाय जिल्ला प्रशासन कार्यालयसमेतले यसबारे न अध्यक्षलाई सोध्यो न त अडियो सार्वजनिक गर्ने मिडियाका पत्रकारलाई नै।

बरु विभिन्न सामाजिक संजालमा चरित्र हत्या गरियो भनियो, तर सम्बन्धित निकायमा कोही पुग्नै सकेनन्। अन्तत: त्यो अडियो कता हरायो हरायो?

गत असारमा जिल्ला कृषि विकास कार्यालयमार्फत पलाता गाउँपालिकामा ४० लाखको योजना गयो। पलाता गाउँपालिका वडा नं २ का वडाध्यक्ष विरी विक र पलाता कृषि शाखा प्रमुख उत्तम शाहीले १५ लाखमा ठेक्का दिएर अरु रकम दुरुपयोग गरेको प्रमाणसहित समाचार प्रकाशनमा आयो।

त्यो घटनाले केही दिन जिल्लामा चर्चा कमायो, र यो पनि विस्तारै सेलाउँदै गयो। त्यति मात्र होइन्, जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष विष्णुप्रसाद देवकोटासँग पराजित वडाध्यक्ष जनक देवकोटाले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत मन्त्रालयमा केही पैसा दिनुपर्ने भन्दै उपभोक्ताबाट ३ लाख मागे।

उनले त्यो पैसा न मन्त्रालयमा दिए न कुनै नेतालाई। आफैंले तीन लाख झ्वाम् पारे। सान्निवित्रेणी ३ कै वडाध्यक्षले मुख्यमन्त्री रोजगारमा आफ्नै आफन्त राखी करिब एक लाखभन्दा बढी रकम लिएको भरपाई समेत देखिन्छ। तर कसैले आर्थिक दुरुपयोग गरेको भनेर स्पष्टीकरण लिएनन्।

केही दिन अघिमात्र कर्णाली प्रदेशका सांसद कुर्मराज शाहीले योजना मिलाइदिने भन्दै ९ लाख रुपैयाँ मागेको आरोप लाग्यो। उनलाई लागेको आरोपले पनि चर्चा पायो। नौ लाख रुपैयाँ फिर्ता दिनलाई चेकसमेत दिएको चेकको फोटो पनि सार्वजनिक भयो। समाचार आएको दिन अदालतमा जाने भनेर आफन्तलाई सुनाएका सांसद अदालत नगएर आसेपासेमार्फत गलत हो भनेर प्रतिकार गर्न सुझाव दिए। र आफू भने एकाएक चुपचाप लागे।

एक वर्षको अवधिमा कालिकोटमा भएका यी अनियमितताका घटना अहिलेसम्म पनि छानबिन हुन सकेका छैनन्। पारदर्शिता, जवाफदेहितालाई आत्मसाथ नगरी यहाँका जनप्रतिनिधिले आफ्नो दुनो सोझ्याउने काम भइरहेको यी घटनासँगका प्रमाणले देखाउँछ। तर अख्तियारको जिम्मेवारी पाएको जिल्ला प्रशासन के गर्दैछ?

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आफू कालिकोट भर्खर आएकाले अफिसमा के छ बुझेर अनुसन्धान हुने बताए। सांसद कुर्मराज शाहीको विषयमा भने उनीहरुको लेनदेन भएको आफूले सूचना पाएको सिडियो आचार्यले बताए। 'दुई करोडको ठेक्का हुन्छ, कसैले पनि योजना एक व्यक्तिलाई मिलाउन नसक्ने भएकाले लेनदेनमा कुरा नमिलेर बाहिर आएको हो,' उनले प्रतिक्रिया दिए। 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.