नेकपाको एकता अझै सम्भव छ?

|

काठमाडौं : सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने निर्णय गरेपछि अब नयाँ सरकार बनाउने चलखेल सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते राष्टपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन्। 

संसद पुनःस्थापनापछि दुई तिहाई बहुमतसहित सरकार सञ्चालन गरिरहेको नेकपा विभाजित बनेको छ। नेकपा विभाजनपछि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नयाँ सरकार निर्माणको दौडमा लागेका छन्। 

अदालतले मंगलबार संसद पुनःस्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलपछि निर्णय गर्ने चितवनबाट अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा बताएका थिए। उनले सबै दलहरूसँग सहमति गरेर जान सक्ने भए पनि विभाजित आफ्नै दलको नेता ओलीसँग मिलेर जानसक्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। 

विरोधसभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्ड–माधव संसद पुनःस्थापनापछि विजय जुलुस मनाएर काठमाडौँ फर्किसकेका छन्। चितवनबाट फर्केलगत्तै प्रचण्ड–माधव कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेर छलफल गरेको देउवाको स्वकीय भानु देउवाले बताए।  

‘भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भयो’, देउवाले भने, ‘उहाँहरुले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभयो।’ सभापति देउवाले नेकपाले गरेको प्रस्तावबारे पार्टीमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएको उनले बताए। 

सभापति देउवालाई प्रचण्ड–माधव पक्षले मात्रै नभएर प्रधानमन्त्री ओलीको तर्फबाट पनि सत्ता सहकार्यको प्रस्ताव भएको बुझिएको छ। संसद विघटनविरुद्धको आन्दोलनमा खुलेर खुट्टा टेक्न नसकेको देउवालाई अब कसरी अघि बढ्छन् भन्ने विषय अर्थपूर्ण देखिन्छ। 

कस्तो छ अंक गणित?

प्रतिनिधि सभा पुनःस्थापनापछि अर्का संसदमा अंकगणितको खेल सुरु भएको छ। नेकपा विभाजनपछि अब कसरी सत्ता सञ्चालन हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ। 

नेकपाभित्रको विवादको क्रममा ओलीविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ९० जना सांसदले अविश्वासको प्रस्ताव हस्ताक्षर गरेका थिए। नेकपाको कुल १७४ सांसदमध्ये ओलीसँग अब ८४ जना मात्रै रहने देखिन्छ। 

यद्यपि केही सांसदहरु यताउता भइरहेका छन्। त्यसैले थोरै मात्रै सांसद तानातानको खेल हुन्छ। संसद पुनःस्थापनापछि आफ्नो पक्षमा करिब एक सयभन्दा बढी सांसद हुने प्रचण्ड–माधव समूहले दाबी गरिरहेका छन्। 

त्यसो भयो भने सरकार निर्माणमा प्रचण्ड माधव पक्षलाई करिब ३८ जना सांसदकै अभाव हुन्छ। यो पक्षले ३४ जना सांसद भएको जसपासहित साना दललाई लिए मात्रै पनि सरकार निर्माण गर्न सक्छ। तर, प्रचण्ड–माधव पक्ष राष्ट्रिय एकतासहित सरकार निर्माण गर्ने भन्दै प्रमुख प्रतिपक्षी दललाई लिन खोजिरहेका छ। कांग्रेसमा ६३ जना सांसद छन्। 

सरकारमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफलपछि एक निष्कर्षमा पुग्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। ‘हाम्रा शीर्ष नेताहरु लागिराख्नुभएको छ। अब कसरी बढ्ने भन्ने छलफलसहित आवश्यक निर्णय लिन्छ’, उनले भने। 

अझै सम्भावना छ एकता? 

संसद पुनःस्थापनापछि नेताहरुले एकताको सम्भावना रहेको तर्क गर्न थालेका छन्। प्रधानमन्त्री ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले एकतालाई ध्यानका राखेर अहिलेसम्म कसैलाई कारबाही नगरेको बताउँछन्। 

‘राजनीतिक अस्थिरता र संसदमा अलोकतान्त्रिक गठबन्धनको चिन्ता भइरहेको छ। त्यस पछाडिको राजनीतिक परिदृश्य कस्तो सिर्जना हुन्छ भन्ने हो’, उनले भने, ‘पार्टी एकताबद्ध गर्ने प्रयास जारी छ। पार्टीबाट बाहिरिएकाको ठोस प्रस्ताव र उहाँहरुको बुझाइ के हो? भन्ने विषयमा छलफल हुन्छ।’

यता प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुन सक्ने संकेत गरे। 

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि बुधबार धनगढीमा पत्रकारहरुसँग उनले भने, ‘असंवैधानिक कदमको आत्मालोचना गरे, ओलीप्रति सोच्न सकिन्छ।’

देशको राजनीतिक अस्थिरतातर्फ केन्द्रित हुने भएकाले एकताबद्ध हुनुपर्नेमा नेताहरुले जोड दिइरहेका छन्। यद्यपि अध्यक्ष प्रचण्डले पनि ओलीसँग तत्कालै कुनै सहमति नहुने तर्क गर्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.