|

काठमाडौं : सरकारले यस वर्षबाट सामुदायिक विद्यालयहरूमा दिवा खाजा अन्तर्गत ‘जङ फुड’ (पत्रु खाना) हटाएको छ। अब अनिवार्य पकाएरै खुवाउनुपर्ने निर्णय सरकारले गरेको छ।

दिवा खाजाको लागि सरकारले प्रतिदिन प्रतिविद्यार्थीका लागि १५ रुपैयाँ तोकेको छ। कर्णालीका विद्यार्थीलाई भने २० रुपैयाँ तोकेको छ। 

तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको मेन्यूमा भने पोसिलो जाउलो,  खीर, हलुवा, चिउरा-मासु लगायत खुवाउनुपर्ने मापदण्ड तोकिएको छ।

यी मेन्यू हेर्दा सरकारले विद्यार्थीलाई पर्याप्त पौष्टिक तत्व रहेका खाजा खुवाउन खोजेको देखिन्छ। तर, यथार्थ अर्कै छ।

बढ्दो महँगीमा प्रतिविद्यार्थी १५ रुपैयाँले खीर र मासु-चिउरा किन्न सकिने सम्भावना कम देखिन्छ।

यस विषयमा जिज्ञासा राख्दा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधव प्रसाद दाहालले १५ रुपैयाँ खर्च गर्दा राम्रोसँग खाजा खान पुग्ने दाबी गरे। उनले भने, ‘प्रतिव्यक्ति प्रतिदिनको लागि छुट्टाएको १५ रुपैयाँले खाजा खान सम्भव छ। ग्रुपमा किनेर खाने हो। एक-एक जना गरी होइन। हिसाब गरेरै रकम तोकेका हाैँ।’

उनका अनुसार केन्द्र सरकारले यही खाजाका लागि ७ अर्ब २२ करोड रुपैयाँ बजेट निकासा गरेको छ। यी पैसा स्थानीय तहलाई पठाइनेछ। स्थानीय तहले दिवा खाजाका लागि सामुदायिक विद्यालयलाई पठाउँछ।

‘कुनै स्कुलमा क्यान्टिन नै हुन्छ,’ उनले भने, ‘क्यान्टिन भएमा त्यही क्यान्टिनले मेन्यू अनुसार खाजा पकाएर विद्यार्थीहरूलाई खुवाउँछन्। पैसा क्यान्टिनले लिन्छ। क्यान्टिन नहुनेले अभिभावक वा स्कुलसँग समन्वय गरी पखाएर खुवाउने व्यवस्था हुन्छ।’

उनका अनुसार प्रत्येक दिन खाजाका परिकार छुट्टयाइएको छ। यी खाजाले विद्यार्थीको पढ्ने क्षमता वृद्धि हुनुका साथै अध्ययनमा आकर्षित हुने उनले दाबी गरे। कोभिड-१९ ले रोकिएको दिवा खाजाको हिसाब भने निकाल्न बाँकी रहेकाे उनले जानकारी दिए।

‘कोभिडको बेला स्कुल सञ्चालन नहुँदा दिवा खाजा पैसा बचेको छ। कति खर्च भयो भन्ने हिसाब निकाल्न बाँकी छ। खर्च नभएको पैसा मन्त्रालयका फिर्ता आउँछ, यो शीर्षकको पैसा अन्य शीर्षकमा प्रयोग गर्न पाउँदैनन्,’ उनले भने।

७७ वटै जिल्लामा दिवा खाजा

सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको शुरुवात १९६४ देखि शुरू भएको हो।

कम्तिमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषणस्थिति सुधार गर्ने, शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्ने लगायत उद्देश्यले यो कार्यक्रम शुरू भएको थियो।

शुरूमा ३७ जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन भएको थियो। पछि थपिँदै ६८ जिल्लामा कार्यक्रम विस्तार गरिएको थियो। सूचना अधिकारी दाहालले अहिले भने ७७ वटा जिल्लामै दिवा खाजा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

उनका अनुसार ७७ जिल्लाको १० क्षेत्रमा बाँडेर यो कार्यक्रम सञ्चालन भएको छ। शिशु कक्षादेखि पाँच कक्षासम्मका ३० लाख विद्यार्थीहरू दिवा खाजाबाट लाभान्वित हुने उनले बताए।  

यी जिल्लामा यस्ता मेन्यू

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको मेन्यूमा पूर्वी पहाडका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र ओखलढुंगामा ६ प्रकारका परिकार उल्लेख छ।

जसमा पोसिलो जाउलो, मकैको खीर तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी र आलु पनिर छन्। पोषण लक्ष्य ३० प्रतिशत आरडीए तोकिएको छ। 

मध्य-पहाडका जिल्ला सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, नवलपुर, बर्दघाट, सुस्ता पूर्व, पाल्पा, स्याङजा, तनहुँ, कास्की, पर्वत र लमजुङमा पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, चिउरा-मासु, क्वाँटी र मकैको खीर गरी ६ मेन्यू तोकिएको छ।

पश्चिम पहाडका बाग्लुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुम पूर्व, पश्चिम रुकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, बैतडी, र डडेलधुरामा पोसिलो जाउलो, फापरको रोटी, मकैको खीर, क्वाँटी, ढिँडो, कोदोको पुवा खुवाउन सकिने उल्लेख छ।

त्यस्तै, पूर्वी तराई सेट १ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, र पर्सामा खिचडी, छोला चिउरा, गेडागुडी मिक्स, मकैको लावा फूल, गहुँको हलुवा र तरकारी तोकिएको छ। पूर्वी तराइ सेट २ को मोरङ, झापा, सुनसरी र उदयपुर जिल्लामा भुटेको भात, पुरी तरकारी, भुटेको अण्डा र चिउरा, खीर तरकारी, पानी रोटी, दही चिउरा र तरकारी खुवाउनुपर्ने लेखिएको छ।

पश्चिम तराईका सेट १ को चितवन, नवलपरासी (पश्चिम सुस्ता), रुपन्देही, कपिलवस्तु, दाङका लागि तोकिएको मेन्यूमा चिउरा मासु, जाउलो, मकैको भटमास तरकारी, गेडागुडी, गहुँको हलुवा, भुटेको भात मेन्यूमा छ। पश्चिम तराई सेट २ को बाँके, बर्दिया, कैलाली, कञ्‍चनपुरमा भुटेको अण्डा र भात, चना चिउरा, खीर तरकारी, रोटी अचार, गेडागुडी साधेको, दही चिउरा र तरकारी तोकिएको छ।

पूर्वी हिमालको ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभामा जाउलो, मकैको खीर, आलु बदाम, फापरको ढिँडो, कोदोको पुवा र क्वाँटी खुवाउनपर्ने भनिएको छ। मध्य-हिमालको दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङमा जाउलो, कोदोको हलुवा, अण्डा भूजा, क्वाटी, हरियो मकैको तरकारी, आलुदम मेन्यूमा उल्लेख छ।

पश्चिम हिमालको जुम्ला, हुुम्ला, मुग, डोल्पा, बझाङ, बाजुरा, दार्चुला जिल्लामा पोसिलो जाउलो, कोदोको हलुवा तरकारी, कला र सिमीको कोल, फापरको लगर, मकै भटमास र चिनोको खीर र तरकारी खुवाउनुपर्ने तोकिएको छ।

विद्यालय दिवा खाजा तालिका

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.