|

धनकुटा : कालो सुन भनेर चिनिने अलैंची खेतीमा हौसिएका पूर्वी पहाडका किसान यो वर्ष निराश भएका छन्।

अन्नबाली हुने खेती योग्य जमिन मासेर पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैंची राम्रो उत्पादन हुँदै आए पनि यो वर्ष भने बिरुवा नै बिक्री हुन सकेको छैन। अलैंचीबाट राम्रो आम्दानी लिँदै गरेका तेह्रथुम लालीगुराँस नगरपालिकाका कृषक टेकबहादुर केप्छाकी मगरले बिरुवा उत्पादन गरे पनि बिक्रि नहुँदा अलमलमा परेका छन्।

बिरुवा बिक्री नभएपछि उनले उत्पादन गरेका झण्डै ४ लाख अलैंचीको बिरुवा बगानमै हुर्किएका छन्। गाउँमै व्यावसायिक नर्सरी व्यवसाय गर्ने सोचले अलैंचीको बिरुवा उत्पादनलाई व्यवसायिक रुपमा बनाएर काम गरेको भएपनि बिक्रि नहुँदा लगानी संकटमा परेको छ। सुरुमा प्रतिकेजी १२ हजार रुपैयाँका दरले २० केजी अलैंचीको खरिद गरी केप्छाकी बहुउद्देश्यीय नर्सरी फर्मबाट व्यवसाय सुरुवात गरेका मगर अहिले ऋण समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताउँछन्।

मगरले ६० लाख रुपैयाँमा खर्च गरेर अलैंचीको बिरुवा उत्पादन गरेको बताउँछन्। आफ्नै २० रोपनी जमिन र केही जमिन भाडामा लिएर मगरले सुरुवात गरेको बिरुवा उत्पादन सुरुका दिनहरूमा राम्रै बजार पाए पनि अहिले बिक्रि ठप्प भएको छ। अलैंचीको सिजनको बेला बिरुवा ७ रुपैयाँको दरले बिक्री हुँदै आएको भएपनि अहिले ठप्प भएको किसान मगरले बताए।

मगर जस्तै गुणस्तरीय बिरुवा उत्पादनसँगै किसानको माग अनुसार बिरुवा उत्पादन गर्ने लक्ष्यले अलैंचीको बिरुवा उत्पादन गरेका यहाँका किसान अहिले अलैंची मास्न लागेका छन। सुरुमा अलैंचीको मूल्य बढेसँगै किसानहरू अलैंची खेतीसँगै नर्सरी व्यवसायमा आकर्षित भएका थिए। अलैंचीको बजार मूल्य दिनानुदिन ओरालो लागेपछि किसानहरू खेती धमाधम घटाउन थालेका छन। अलैंचीको मूल्य बढेसँगै किसानहरुले अन्नबाली हुने खेती योग्य जमिन मासेर अलैंची खेतीमा आकर्षित भएका थिए। 

बिरुवा बिक्रीका लागि हारगुहार गरे पनि सम्बन्धित निकायले बजार व्यवस्थापन गर्न नसकेको धनकुटाका अलैंची किसान लोकबहादुर लिम्बूले बताए। अलैंची र विरुवा उत्पादन भएपनि बिक्रीका लागि भरपर्दाे बजार नहुँदा किसानहरू पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ। कालो सुनको रूपमा परिचित अलैंचीको खेती विस्तारतर्फ सरकारले विशेष योजना बनाउनुपर्ने किसानहरुको माग छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.