|

झापा :  महाभारतकालिन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा यस वर्ष नलाग्ने भएको छ। 

कोरोना भाइरस ९कोभिड–१९० को महामारी कारण किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिले यसवर्ष किचकबध मेला नलगाउने निर्णय गरेको हो। हरेक वर्ष माघ शुल्क पूर्णिमा र स्वस्थानी व्रतका दिन स्वतस्फूर्त रुपमा किचकबध मेला लाग्दै आएको छ। यसवर्ष फागुन १५ गते शनिवार किचकबध मेला लाग्ने दिन परेको छ। 

कोरोना महामारीका कारण सरकारले अत्यधिक भिडभाड नगर्न निर्देशन जारी गरेकोले यस वर्ष किचकबध मेला नलगाउने निर्णय गरिएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए। समितिले हरेक वर्ष ठेक्का प्रक्रियाबाटै मेलाको आयोजना गर्दै आइरहेको बताउँदै अध्यक्ष थेबेले भने, ‘यसवर्ष मेला नलगाउने भएपछि कुनै ठेक्का लगाइएन, मेला नलागे पनि धार्मिक आस्था लिएर पूजाआर्चना गर्न आउने श्रद्धालु भक्तजनहरूलाई कुनै रोकटोक लगाइने छैन।’
भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास छ। 

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक चलन छ।  भक्तजनहरूले भीमसेनले किचकलाई बध गरेको मुर्तिमा समेत पूजाआर्चना गर्छन्। वर्षमा एक पटक लाग्ने यस मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो लाग्छ। महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए।

पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ। सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो। किचकबध मेलाको उपलक्ष्यमा भद्रपुर नगरपालिका, कचनकवल, बाह्दशी र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिँदै आइरहेका थिए। 

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामको कानुनी प्रावधान सीमा नाका र धार्मिक क्षेत्रमा मात्र लागु गराउने गरेकोमा स्थानीयले गुनासो पोखेका छन्। 

राजनीतिक दलहरूले हजारौँ कार्यकर्ता सडकमा ओरालेर सभा, जुलुस र भेला गराउनु हुने तर सीमा नाका खुलाउने र धार्मिक कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति स्थानीय असन्तुष्ट बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.