|

जयमान बुढा मगर

रुकुमपूर्व : फागुन २३ गते देखि जिल्लाका सबै वडामा खोप केन्द्र स्थापना गरी वडागत रूपबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ। कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ तेस्रो चरणको खोप अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुकुमपूर्वको व्यवस्थापनमा जिल्लाका सबै वडामा खोप केन्द्र स्थापना गरी खोप लगाउने भएको हो।

यसअघिका पहिलो र दोस्रो चरणको खोप एकै ठाउँ रुकुमपूर्व अस्पताल रुकुमकोटबाट मात्र खोप अभियान सञ्चालन गरिएको थियो।

जसमा यसअघिको खोप अभियानमा दुर्गम तथा भौगोलिक विकटका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कार्यालय सहयोगीहरू नै रुकुमपूर्व अस्पताल रुकुमकोटमा आउन नसकेकाले तेस्रो चरणको खोप अभियानमा ५५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ।

जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा जिल्लाका प्रत्येक वडामै खोप केन्द्र स्थापना गरी तेस्रो चरणको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए।

तेस्रो चरणको खोप अभियानमा पहिलो र दोस्रो चरणमा छुटेकासँगै ५५ वर्ष उमेरदेखि माथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजनिक सवारी साधनका चालक, सह–चालकलाई सम्बन्धित आ–आफ्नो वडाबाट कोरोना विरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरिरहेको प्रमुख ढकालले बताए।

खोपको सुरक्षा र खोप लगाउनेबारे जिल्लाका तीन स्थानीय तहका स्वास्थ्य संयोजक, स्वास्थ्य संस्थाका इञ्चार्जलाई आवश्यक तालिम दिइ फागुन २३ गतेबाट जिल्लामा प्रत्येक वडाबाट खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरीले बताए।

'जसमा फागुन २३ र २४ गते सिस्ने गाउँपालिकाको पाँच स्वास्थ्य चौकी र नयाँ तीन खोप केन्द्र स्थापना गरी ८ वटा खोप केन्द्रबाट खोप दिइनेछ' सूचना अधिकारी गिरीले भने, 'यसैगरी भूमे गाउँपालिकामा २५ र २६ गते पाँच वटा स्वास्थ्य चौकी र थप नयाँ चार  गरी ९ वटा खोप केन्द्रबाट र पुथाउत्तरगंगा गाउँपालिकामा २७ र २८ गते ६ स्वास्थ्य चौकी र थप नयाँ ९ गरी १५ वटा खोप केन्द्र स्थापना गरी वडागतबाट तेस्रो चरणको खोप अभियान सञ्चालन गरिने भएको छ।'

 

कोरोनाविरुद्धको खोप प्रभावकारी रहेकोले तेस्रो चरणमा खोप लगाउन आ–आफ्नो खोप केन्द्रमा गई खोप लगाउन पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। ५५ वर्ष उमेर देखि माथिका हकमा अनिवार्य नागरिकता आवश्यक पर्ने स्वास्थ्य कार्यालयले बताएको छ। 

पहिलो र दोस्रो चरणमा उत्साहजनक सहभागी

पहिलो र दोस्रो चरणको खोप लगाउने अभियानमा सबैमा उत्साहजनक सहभागी भएको  स्वास्थ्य कार्यालयले जनाएको छ।

पहिलो चरणमा चार सय ६७ जनालाई दिने लक्ष्य राखेकोमा तीन सय ३८ जना र दोस्रो चरणमा पाँच सय एक जनालाई खोप दिने लक्ष्य राखेकोमा चार सय एक जनाले लगाएका छन्।

पहिलो र दोस्रो चरणका गरी सात सय ८२ जनाले खोप लगाएकोमा कुनैलाई सामान्य ज्वरो देखा परेको जनाइएको छ। खोपको सामान्य असर देखिनु सकरात्मक नै भएको स्वाथ्यकर्मीले जनाएका छन्।

जिल्लामा एक सय चार भाइल खोप आएकोमा पहिलो चरणमा ३८ र दोस्रो ३७ भाइल खोप खर्च भएमोमा बाँकी २९ भाइल खोप मौज्दात रहेको सूचना अधिकारी गिरीले जानकारी दिए।

हाल जिल्लामा मौज्दात रहेको २९ भाइल खोप तेस्रो चरणको खोप अभियानमा अपुग हुने भएकोले आवश्यक थप खोप माग गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.