सभापति देउवा भन्‍छन् : दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको छ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि करिब दुईतिहाइ नजिकको बहुमतसहितको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छ। सर्वोच्चले अदालतले संसद् पुनःस्थापना गर्ने फैसला गरेपछि नेकपा दुवै पक्षले सत्ता सहकार्य लागि कांग्रेसलाई प्रस्ताव गरेको छ। 

यद्यपि, प्रचण्ड–माधव पक्षले कांग्रेससँग मात्रै नभएर जनता समाजवादी पार्टी (जसपा)लाई समेत प्रस्ताव गरेको छ। जसपा ओली पक्षसँग भन्दा प्रचण्ड–माधव पक्षसँग सहकार्य गर्न नजिक छ। तर, उनीहरुको पनि आफ्नै शर्त राखिरहेका छन्। 

नेकपा विभाजन भइसकेपछि प्रधानमन्त्री ओली र प्रचण्ड–माधव पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएपछि सभापति शेरबहादुर देउवा बिहिबार पदाधिकारी बैठक राखे।  

बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अहिलेसम्म विभाजन भइनसकेको भएकाले सत्ता सहकार्यमा जाने कुनै निर्णय नगरेको बताए। 

‘संसद् बैठक बसेपछि कस्तो परिस्थिति सिर्जना हुन्छ। त्यहीअनुसार कांग्रेसले निर्णय निकाल्छ’ उनले भने, ‘नेकपा दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको भए पनि तत्कालै कांग्रेस सरकारमा जाँदैन। नेकपा एकै रहन्छ वा अर्को परिस्थिती आउन भन्ने कुरा कम्युनिस्ट पार्टीको कुरा हो।’ नेकपाको दुवै पक्षबाट आएको सत्ता सहकार्यको प्रस्तावको अर्थ नभएको कांग्रेसको धारणा छ। 

जनताले ५ वर्ष कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी दिएको हुनाले सरकारमा नजाने निर्णय गरेको नेता अर्जुननरसिंह केसी बताउँछन्। 

‘नेकपाको अहिलेको विवाद किनारा लागिसकेपछि देशलाई नेतृत्वविहीन हुने अवस्था सिर्जना भएको खण्डमा कसको पक्ष लिने भन्ने निर्णय गर्न सक्छ’ उनले भने, ‘त्यस्तो परिस्थिति सिर्जना भएको खण्डमा कांग्रेसले सरकार निर्माणमा सहयोग गर्छ। तर, सरकारमा जाँदैन।’

अहिले नेकपाकै सरकार भएको र संसदीय दलको नेता पनि प्रधानमन्त्री ओली नै भएको कारणले कांग्रेसले त्यसमा सहकार्य गर्न हतार नगर्ने बताए। 

‘हामीले प्राविधिक रूपमा हेर्दा अहिले नेकपाकै सरकार छ। उहाँहरू आफैँ दुईतिहाइ नजिकमा हुनुहुन्छ’ उनले भने, ‘कांग्रेसले नेकपाको एक पक्षलाई लिनेभन्दा पनि सन्तुलन गरेर अगाडि बढ्छ।’ 

नेकपाभित्रको किचलोको छिनोफानोपछि मात्रै कांग्रेसले अन्तिम निर्णय गर्ने उनको तर्क छ। ‘सबै नेताहरूको दृष्टिकोण एउटै हुन्छ भन्ने हुँदैन। त्यसैले बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक मत रह्यो भनेजस्तो देखिए पनि उहाँहरूकै सहमतिमा साझा निर्णय गरेको हो’ उनले भने।

देउवा र पौडेलले के भने? 

बैठकमा सभापति देउवाले सबै पक्षबाट सत्ता सहकार्य गर्ने प्रस्ताव आएको छ कसरी अगाडि बढ्ने भन्ने विषयमा सुरु गरेको उनले बताए। ‘नेकपा विभाजन भएको छैन। तर, दुवै पक्षबाट प्रस्ताव आएको छ अब कसरी जान सकिन्छ’ देउवाले भने।

यता, नेता पौडेलले पनि असंवैधानिक कदमविरुद्ध लागेको भए पनि अहिले तटस्थ बस्नुपर्ने बताएका थिए। ‘हामीले पनि अहिलेको परिस्थितिमा प्रतिगनविरुद्ध आन्दोलनमा जुन पक्ष लागेको भए पनि अहिले त्यसको प्रतीक्षा गर्नुपर्छ’ बैठकमा पौडेलले भने, ‘नेकपाभित्रको अन्तिम सैद्धान्तिक टुंगो लगाएपछि मात्रै साझा निष्कर्षमा जानुपर्छ।’ 

प्रमुख प्रतिपक्ष गुम्ने भय

कांग्रेसलाई नेकपाका दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आए पनि विभाजनपछि प्रमुख प्रतिपक्षसमेत गुम्ने भयले छ। नेकपामा १७४, कांग्रेसमा ६४ र जसपामा ३४ सांसद छन्। 

ओलीविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ९० जना सांसदले अविश्वासको प्रस्ताव हस्ताक्षर गरेका थिए। नेकपाको कुल १७४ सांसदमध्ये ओलीसँग अब ८४ जना मात्रै छन्। केहीले संसद पुनःस्थापनापछि केही सांसद आफ्नो पक्षमा आउने दाबीसहित ओलीलाई हटाउने सक्ने आँकलन गरिरहेको छन्। त्यसो भएको खण्डमा कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिकासमेत गुमाउँछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.