भरतपुर महानगरले भेटेन विकल्प

|

चितवन : नारायणी पुलबाट दक्षिणतर्फको नदी किनार फोहोरले दुर्गन्धित छ। भरतपुर महानगरपालिकाले भरतपुर–३ र ४ मा पर्ने नगर वन र वन आसपासका क्षेत्रमा १५ बर्षदेखि अव्यवस्थित रुपमा फोहोर फाल्दै आएको छ।

महानगरले अहिले नारायणी नदिको बीचमा बनेको आइल्याण्ड (टापु)मा फोहोर थुपार्ने गरेको छ। यो टापु नगर वनअन्तर्गत पर्छ। नगर वनको टापुमा फोहोरको अर्को टापु बनेको छ।

यहाँ जमिनको सतहदेखि चार तह माथिसम्म फोहोर थुपारिसकिएको छ। फोहोरलाई ग्राभेल माटोले पुर्ने गरिएपनि जंगली जनावरहरु आएर खोस्रिएर फोहोरलाई पुनः बाहिर निकाल्छन्।

विषाक्त फोहोरका कारण नदिमा पाइने जलचर र वातावरणमा गम्भिर असर परेको छ। फोहोरको थुप्रोमा पैसा खोज्न स्थानीय युवाहरु त्यहाँ पुग्छन्। बिक्री हुने कबाडी सामग्रीहरु उनीहरुले केलाएर संकलन गर्छन, अनि बेच्न लैजान्छन्।

हिउँदको समयमा महानगरले यस टापुमा ल्याएर फोहोर थुपार्छ। बर्खाको समयमा नदिमा बाढी आउने भएकाले फोहोर बोक्ने गाडीहरु यहाँसम्म पुग्न सक्दैनन्। बर्खामा नगर वनको छेउमै फोहोर थुपारिन्छ। बर्षाै देखि अव्यस्थित रुपमा फालिँदै आएको फोहोरको दुर्गन्धले स्थानीयहरु आजित भएका छन्।

फोहोरको दुर्गन्धले बाटो हिँड्नै सकस भएपछि स्थानीयहरुले पटक–पटक विरोध पनि गर्दै आएका छन्। विकासका योजनाहरु पारेर छिटो–छिटो सक्ने आश्वासन देखाएर महानगरले स्थानीयहरुको मुख थुन्ने काम गर्ने गरेको छ। नगर वनको छेउमा फोहोर थुपार्दा पानी नै प्रदुषित भएको भरतपुर–४ को नारायणी दोभान टोल विकास संस्थाका अध्यक्ष सूर्य बराल बताउँछन्।

‘विगतमा फालिएको फोहोरले पानी प्रदुषित भएको छ’, उनले भने, ‘पानीको स्रोत नै बिग्रिएको छ। अब बर्खामा पनि फोहोर फाल्न दिँदैनौ भनेका छौँ।’ गएको बर्खामा नारायणी दोभानका स्थानीयले फोहोर फाल्न नदिएपछि महानगरले भरतपुर–३ को सन्सारी टोल अन्तर्गत पर्ने नदि छेउमा थुपार्न सुरु गर्‍यो।

हिउँद लागेपछि गएको भदौ देखि वनको टापुमा फोहोर थुपार्न थालिएको हो। बर्खामा स्थानीयहरुलाई बढी समस्या पर्ने गरेको छ।

जंगली जनावरको स्वास्थ्यमा असर

त्यसो त टापुमा लगेर फोहोर थुपार्दा जंगली जनावर र वातावरणमा नराम्रो असर पनि परिरहेको छ। चितवन राष्ट्रिय निकुञ्जले बर्षेनी नारायणी नदिमा घडियाल गोहि छाड्ने गरेको छ। नदिमा फालिने फोहोरका कारण गोहिको बासस्थानमा गम्भीर असर परेको छ। प्लाष्टिक र विषाक्त फोहोर खाएर गोहीहरु मर्ने पनि गरेका छन्।

निकुञ्जले हालसम्म ३९९ वटा गोहि नदिमा छाडिसकेको छ। गएको सिमसार दिवसका अवसरमा मात्रै पाँच वटा गोहि नदिमा छाडिएको निकुञ्जका संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए।

‘महानगरले फालेको फोहोरले नै असर गरेको भन्न मिलेन। माथि देखि नै फोहोर बग्दै आउने गर्छ’, उनले भने, ‘तर नदिमा बग्दै आएको फोहोरले गोहीको बासस्थानमा असर परेको छ। गोहीको मुखमा फोहोर अड्किएर खानेकुरा निल्न नसक्दा खान नपाएर गोहि मर्ने गरेका छन्।’

विषाक्त फोहोरले पानीमा पाइने विभिन्न किसिमका जीवहरुलाई पनि असर गर्ने वातावरण संरक्षणकर्मीहरु बताउँछन्। नदिको पानी निकुञ्ज हुँदै बग्ने भएकाले निकुञ्जका जनावहरुको स्वास्थ्यमा असर परिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बावुराम लामिछानेले बताए।

‘निकुञ्जको मुखमै, सिरानमै फोहोर फाल्दा त्यसले असर गर्ने नै भयो’, उनले भने, ‘घाँसे मैदानहरुमा प्लाष्टिकका फोहोर भेटिन्छ। जनावरले त्यो फोहोर खाँदा उनीहरुको शरिर बाहिर र भित्र असर गर्छ।’

महानगरले भेटेन विकल्प

नगर वनको छेउमा फोहोर फाल्दा स्थानीयहरुले बर्षेनी चर्को विरोध गर्दै आएका छन्। अन्यत्र लगेर फोहोर व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ। तर महानगरले भने अहिले सम्म उपयुक्त विकल्प भेट्न सकेको छैन। वनमा लगेर फोहोर थुपार्दा स्थानीय जनता र जंगली जनावहरुमा असर परेको स्वीकार्दै महानगरका वातावरण इन्जिनियर विराट घिमिरे भने–‘कहाँ लगेर थुपार्दा ठिक होला ? सुझाव सहित विकल्प आओस्।’

फोहोर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाले बनाएको ल्याण्डफिल साइट निर्माण गर्ने योजना अघि बढ्न सकेको छैन। ल्याण्डफिल साइटको डिपिआर दुई बर्षदेखि प्रकृयामै रहेको महानगरले बताएको छ।

भरतपुर–२ जलदेवी सामुदायिक वनभित्रको १५ बिघा जमिनमा लागत साझेदारीमा ल्याण्डफिल साइट निर्माण गर्न २०७५ भदौ २८ गते भरतपुर महानगरपालिका र दक्षिण कोरियाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनबीच सम्झौता भएको थियो। १५ महिनाभित्र डिपिआर बनाउने योजना रहेपनि अझै नबनेको घिमिरेले बताए।

ल्याण्डफिल साइट निर्माण गर्न लागिएको जग्गाको साटो महानगरले माडीमा १५ बिघा जग्गा खरिद गरेर वनलाई दिएको छ। डिपिआर गर्दा लाग्ने बजेटको व्यवस्थापनमा समस्या देखिएको छ। डिपिआरको लागि कोरियन कम्पनीले नै बजेट व्यवस्थापन गर्नुपर्ने सहमति भएको थियो। तर त्यस कम्पनीले प्रकृया अगाडि बढाउन सकिरहेको छैन।

भरतपुर महानगरपालिकाबाट दैनिक ७० टन भन्दा बढी फोहोर निस्कने गरेको छ। फोहोर व्यवस्थापनका लागि महानगरले बार्षिक तीन करोड भन्दा बढी रकम खर्च गर्ने गरेको छ। निजी घर, व्यावसायिक प्रतिष्ठान तथा उद्योगबाट निश्चित रकम लिएर फोहोर उठाउन महानगरले निजी क्षेत्रलाई जिम्मा दिएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.