|

विराटनगर : ११ वर्षीया बालिकामाथि भएको बलात्कार प्रयासको घटना पैसामा मिलापत्र गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

एक साता अघि मोरङको जहदा गाउँपालिका–१ मा बालिकामाथि भएको बलात्कार प्रयासको घटनामा पीडितलाई दबाब दिएर गुपचुप राखिएको घटना सार्वजनिक भएको छ।

पीडित पक्षलाई आर्थिक प्रलोभन देखाएर गाउँमै घटना मिलाउने प्रयास गर्दै प्रहरीमा नजान दबाब दिने पर्शुराम सरबरीया र सानदेव सरबरीयालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

बालिका बलात्कारको प्रयासका आरोपी ४५ वर्षीय राजेन्द्र सरबरीया भने फरार छन्। उनले बालिकामाथि पटक–पटक बलात्कारको प्रयास गर्दै आएको पीडित पक्षले जनाएको छ। पछिल्लो पटक पीडित पक्षले राजेन्द्रविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि घटना बाहिर आएको छ। 

राजेन्द्रले बालिकामाथि फागुन ६ गते दिउँसो घरनजिकैको मकैबारीमा लगेर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। त्यसपछि फागुन ८ गते पनि आफूमाथि सरबरीयाले पुनः बलात्कार प्रयास गरेपछि बालिकाले आफन्तलाई जानकारी दिएकी थिइन्।

घटनापछि गाउँकै अगुवाले मिलापत्र गर्न दबाब दिएकोले घटना समयमा प्रहरी कार्यालयमा आउन नसकेको प्रहरीको भनाइ छ। बालिकाको आमाको पहिल्यै मृत्यु भइसकेको र बुवा पनि ९ वर्षदेखि वेपत्ता रहेकाले पीडित बालिका मावली घरमा बस्दै आएको खुलेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.