|

काठमाडाैं : कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताएकी छन्। 

शुक्रबार कृषिसम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरुसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु नपर्ने बताइन्। 

मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि उनले जानकारी दिइन्। मन्त्री अर्यालले भारतको खुला सिमानाबाट अवैध रुपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनको निम्ति प्रयत्न गर्ने बताए।

‘तपाईहरुलाई ढुक्कको साथ भन्छौँ, अब रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु पर्दैन। त्यसको आवश्यकता पूर्ति गर्नेगरी हाम्रो क्षमतालाई विकास गरेर हामी अगाडि बढ्याछौँ। खुला सिमानालाई अहिले बन्द गर्न सकिँदैन। ठ्याक्कै बन्दै गर्छौं भनेर जान सक्दैनौँ, तर सिस्टममा ल्याउन हामी प्रयत्न गर्छौ। खुला सिमानाका कारणबाट मल भित्रिने र त्यसबाट हुने जे विकृति छन् त्यसलाई व्यवस्थित गर्न निम्ति हाम्रो ध्यान पुग्छ र हामी गर्छौ,’ मन्त्री अर्यालले भनिन्। 

मन्त्री अर्यालले आफ्नो कार्यक्षेत्रभित्र नभए पनि उखु किसानको समस्या समाधान गर्न पहलकदमी लिएको बताइन्। हालसम्म ४३ करोड रुपैयाँ रकम भुक्तानीसमेत भइसकेको उनले बताइन्।

मन्त्रालयले नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको, डिजिटल माटोको नक्सा शुरु गरेको, नेपाली कृषिमा इजरायलको प्रविधि प्रयोग गर्ने गरी नेपाल र इजरायलबीच समझदारी भएर काम शुरु गर्न लागेको तथा खाद्य भण्डार स्थापना गर्ने लगायतका कार्यक्रमहरु शुरु गरेको बताइन्।

यस्तै ७ वटै प्रदेशमा रासायनिक मल भण्डार स्थापना गर्ने तयारी रहेको पनि बताइन्। किसानलाई सूचीकृत गर्ने काम सकिएको र छिट्टै सातै प्रदेशबाट एकैचोटि शुभारम्भ गर्ने तयारी भइरहेको बताइन्। 

कृषि क्षेत्रमा ठेकेदारी प्रथा रहेको भन्दै मन्त्री आर्यालले त्यसलाई तोडेर अनुदानमा हुने बेतिथिलाई व्यवस्थित गर्नुपर्ने पनि बताइन्। किसानलाई अनुदान दिने निर्देशिका ठिक ढंगले बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।

मन्त्री अर्यालले कालिमाटी तरकारी बजारमा फोहोर व्यवस्थापन, स्टल र सवारी साधनको समस्या रहेको भन्दै त्यहाँको बेथिति अन्त्य गर्न मन्त्रालयले कार्यविधि बनाएको बताइन्। प्रणालीभन्दा बाहिरबाट चलेका स्टलहरुलाई कुनै हालतमा बस्न नदिने उनको भनाइ छ।

आयात र निर्यात बराबरी हुनुपर्नेमा पनि उनले जोड दिइन्। आयात गर्दागर्दै पनि निर्यातमा ध्यान जानुपर्ने भन्दै उनले त्यसो नगरे अन्तर्राष्ट्रिय बजार सुरक्षित नहुने जिकिर गरिन्। अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न आयात र निर्यात सँगसँगै लानुपर्ने उनको धारणा थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.