देउखुरी : लोपोन्मुख कुसुण्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ। उक्त कक्षा फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ।
घोराही उपमहानगरपालिका–५ धर्नाको महेन्द्र मावि र वडा–१८ को सुपैलाखुटीको कुसुण्डा बस्तीमा कुसुण्डा भाषा कक्षा संचालन हुन थालेको हो। माविमा भर्ना भएका १२ जनालाई भाषा सिकाउन कुसुण्डा भाषाका पाठ्यपुस्तक लेखक उदयबहादुर आलेले सहजीकरण गर्नेछन्।
यस्तै सुपैलाखुटीमा १८ जना कुसुण्डाका बालबालिकालाई भाषाका जानकार कमला कुसुण्डा र उर्मिला कुसुण्डाले सहजीकरण गर्नेछिन्। सो आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले कुसुण्डा भाषाको संरक्षणका लागि अर्को पुस्तालाई भाषा सिकाउनुपर्ने भएकाले कक्षा सञ्चालन गरिएको जानकारी दिए।
घोराही उपमहानगरपालिका–५ रहेको महेन्द्र मावि, धर्नाको छात्राबासमा अध्ययन गर्ने कुसुण्डा किशोरीहरुलाई ९० घण्टाको कार्यक्रमअन्र्तगत दिनको दुई घण्टाका दरले ६० घण्टाको प्रत्यक्ष कक्षा हुने र बाँकी ३० घण्टा स्वाध्ययन हुने आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए।
उक्त कक्षामा १० जना कुसुण्डा जातिका विद्यार्थी र एक जना वादी समुदायका विद्यार्थी पनि हुनेछन्। सो उपमहानगरका प्रमुख नरुलाल चौधरीले भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवर्द्धनमा स्थानीय तहले विशेष चासो राखेर काम गर्ने बताए।
आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर लोप्चनले आफू–आफूले बोल्दा कुसुण्डा भाषा प्रयोगमा ल्याउन सकेमा भाषाको प्रयोग धेरै हुने र भाषा जीवन्त रहने बताए। पाठ्यपुस्तक लेखक आलेले यो भाषालाई जीवन्त राख्न सम्बन्धित समुदायले कथ्य परम्परालाई कायम राख्नुपर्ने बताए।
यसका जानकार कमला कुसुण्डा सेनले यसरबारे जानेको जीवित व्यक्ति आफूमात्र भएको र आफ्नो भाषाको संरक्षणमा लागेको जानकारी दिइन्। ‘भाषा अरुलाई सिकाइएन भने आफूसँगै मर्छ, त्यसैले भाषा आयोगले कुसुण्डा भाषा सिकाउने अवसर दिएकोमा धेरै खुशी लागेको छ,’ उनले भनिन्।
त्यस अवसरमा नेपाल कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डा, मावि धर्नाका प्रधानाध्यापक ऋषिराज अधिकारीलगातयले सबै भाषाको संरक्षण र सवर्द्धनमा आयोगको ध्यान जानुपर्ने र लोपोन्मुख जातिको भाषालाई संरक्षण गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
राष्ट्रिय जनगणना २०५८ मा नेपालमा कुसुण्डाको जनसंख्या १६४ तथा वक्ताको संख्या ८७ उल्लेख थियो। २०६८ को तथ्यांकअनुसार कुसुण्डाहरुको जनसंख्या २१३ उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।