|

म्याग्दी : म्याग्दीमा उवैधरुपमा नदी दोहनमा प्रयोग गरिएका उपकरण प्रहरीले नियन्त्रणमा लिएको छ।

उत्तरी म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगरस्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्डविपरीत नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार बिहान सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत साहना निर्माण सेवाले नदी उत्खननमा प्रयोग गरेको जेसिबी कम्पनीको एक्साभेटर र दुई वटा टिप्पर नियन्त्रणमा लिएको गलेश्वरस्थित सशस्त्र प्रहरी बलको आश्रित गुल्मले जनाएको छ।

डोजरको साथै उत्खनन गरिएको नदीजन्य वस्तुको ढुवानीमा प्रयोग भएको ग१ख ७९६७ र ग १ ख ९०३८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाएको गुल्मका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङले बताए।

बेनी– जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकअन्तर्गत बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन भएको विषयमा गण्डकी पत्र डटकम र अन्य सञ्‍चार माध्यममा समाचार प्रकाशन भएका थिए।

नियन्त्रणमा लिएको डोजर र टिप्परलाई आवश्यक अनुसन्धान गरी कारबाहीका लागि नदीजन्य वस्तुको जिल्ला अनुगमन समितिलाई बुझाइने प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए।

अव्‍यवस्थित रूपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन गर्दा नदी गहिरिने, माछालगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन्।

जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठूलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य बस्तुको उत्खनन र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु. दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो।

सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन र निकासीका लागि सात लाख एक हजारमा ठेक्का लिएको छ। बेनी नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले नदीजन्य वस्तु उत्खननमा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए।

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्‍यवस्थापन समितिले गरेको आग्रहअनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने विषयमा जलजला र रघुगंगाका प्राबिधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताए।

म्याग्दीको कालीगण्डकी र म्याग्दी नदीमा अवैधरूपमा नदी दोहन कार्य भइरहँदा पनि स्थानीय प्रशासन र निकायले कुनै ठोस कदम चाल्न सकेका छैनन्। म्याग्दी नदीका विभिन्न ठाउँहरूमा पनि स्काभेटर प्रयोग गरेर नदीजन्य वस्तुको अवैध चोरी निकासी भइरहेको स्थानीयले गुनासो गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.