'यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौँ'

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट शिक्षकहरुको राष्ट्रिय भेलामा अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिसमा रहेको भन्दै त्यसको कुनै अर्थ नुहने बताए। कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर सबैभन्दा पहिलो केपी ओलीको राजीनामा गौतमले नै मागेको उनले स्मरण गरे। 

सबैभन्दा पहिला केपी ओलीलाई प्रधानमन्त्री हटाउनुपर्छ भन्ने वामदेव गौतम हो। तर दोष चाहिँ प्रचण्डलाई गइरहेको छ', नेपालले भने, ‘वामदेवले ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोहीपनि छैन भनेर। अब अहिले फेरी केपीलाई सुधार्ने कोसिस गर्दै हुनुहुन्छ । मैले भनेको छु, यो बालुवा पेलेर तेल निस्किँदैन ।’

अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे। बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने उनको भनाई थियो। 

‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन । केपी ओलीका मानिसहरु बाम लगाएर आँशु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् । यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन्, उनले थपे, 'अब हामी आन्दोलनमा सहभागी भएका सबैलाई साथमा लिएर संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’

अहिले प्रतिनिधि सभा पुनःस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको अध्यक्ष नेपालले बताए। उनले भने ‘एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ । एउटा लडाई जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लड्नुछ ।’

केपी ओलीले अहिले मदन भण्डारी फाउण्डेशनको गुट चलाएको आरोपसमेत अध्यक्ष नेपालले लगाए । बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फूर्तिका साथ देशभर दौडिरहेको भन्दै नेपालले थप बालुवाटार भित्रको बैठकमा नजाने मान्छे अहिले हेर्नुहोस त फूर्ति ! यस्तो ज्याद्रो मान्छेलाई हामीले चलाउन सकेनौँ ।’

अहिले केपी ओलीलाई विदा गरे जस्तै ओली प्रवृत्तिलाई पनि सबैले त्याग्नुपर्ने उनको भनाइ छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.