|

म्याग्दी : बेनी नगरपालिका-२ स्थित बगरफाँट कटान जोखिममा परेपछि म्याग्दी नदी उत्खनन् थालिएको छ। नदीजन्य सामग्री स्थानान्तरण गरी ग्याबिन पर्खाल लगाउन नदी उत्खनन् गरिएको हो। 

बगरफाँट क्षेत्रको रातढुंगादेखि पलाँसेसम्मको क्षेत्र म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको छ। बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारको यस क्षेत्र संरक्षण गर्न अर्को विकल्प नरहेकोले नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याबिन जाली लगाउन थालिएको हो।

नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले म्याग्दीका सांसद भुपेन्द्रबहादुर थापा र थममाया थापाको सिफारिसमा नदीमा ग्याबिन जाली लगाइ बस्ती संरक्षण गर्न यस वर्ष २० लाख रुपैयाँ विनियोजन गरेको बगरफाँट बस्ती संरक्षण आयोजनाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

वि.सं. २०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि  निरन्तर रुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि केही वर्ष अघिदेखि नियन्त्रण प्रयास गरिएपनि त्यो प्रभावकारी हुन सकेको छैन।

यसअघि गत जेठमा गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गरिएको थियो। तर, बर्खामा आएको बाढीले ग्याबिन जाली बगाएपछि समस्या थपिएको हो।

अध्यक्ष कार्कीका अनुसार नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४ सय थान जाली भरिएको थियो। 

करिब २ सय घरधुरी रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयले बताएका छन्।

गत वर्ष पनि स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त १० लाख रुपैयाँबाट नदीजन्य वस्तुहरूको स्थानान्तरण गराइ उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला,हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले बताए।

उनका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका बासिन्दाहरूको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुङ्गा,गेगर,बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको हो।

नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफल जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलाँसे र जरुवा उच्च जोखिममा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.