|

पर्वत : माता पार्वती जन्मिएको विश्वास गरिएको पार्वतको पाङलाई पार्वती धामको रूपमा विकास गर्न पर्वतवासीले अभियान थालेका छन्। 

पार्वती पाङमै जन्मिएकी हुन् भन्ने पुराणमा समेत यसको उल्लेख भएकाले पाङलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न विभिन्न प्रयासहरू हुँदै आइरहेका छन्। पार्वती ध्यानमा बस्ने गरेको पार्वती गुफा, स्नान गर्ने गरेको सहस्र धारा, खेल्ने गरेको मैदानलगायतका ठाउँ पाङमै रहेकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको पाङवासीहरुले बताउँदै आएका छन्।

अभियानअन्तर्गत शनिवार पाङमा भएका सभामा संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पाङमा फेला परेका विभिन्न पुरातात्विक वस्तुहरूले पार्वती पाङमै जन्मिएको भन्ने कुरा पुष्टि गर्नमा सघाउने बताए। ‘माटोको माला र ढुङ्गाको सियो फेला परेको छ। त्यसको अध्ययन भएको छैन। यसको रेकर्ड पुरातत्व विभागमा छैन। संग्रहालय बनाएर ती सामग्री राखिनुपर्छ,’ उनले भने, ‘गुफामा भेटिएका विभिन्न सामग्रीहरूबारे पुरातत्व विभागमा जानकारी गराएर अनुसन्धान गर्न लगाएमा यस ठाउँको प्रवर्द्धन हुनेछ।’ 

गुफामा भेटिएको प्राचीन मूर्ति प्रस्ट रूपमा महिलाको भएको र त्यो पार्वतीकै हो भन्ने विश्वास गर्न सकिने आधार पनि रहेको उनले बताए। पाङलाई पार्वती धामको रूपमा विकास गर्न सकेमा नेपालबाहिरका मान्छे समेत सहस्र धारा र पार्वती गुफामा साधना गर्न आउने डा. गुरुङको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.