|

               एउटा चाहना सबैलाई हुन्छ

               आफ्नै मान्छेको साथ बाँच्ने रहर हुन्छ

               थाहा सबैलाई छ नि तैपनि

               माथि त एक्लै नै जानुपर्छ।

माथि जानु, यो भौतिक शरीरलाई बिदा गर्नु, पञ्च तत्त्वको शरीर पञ्च तत्त्वमै विलीन हुनु आदि-आदि उपमा र परिभाषामा व्यक्त गरेपनि शाश्वत सत्य यो हो कि मानव जीवन प्राप्त गर्नु अस्तित्वको उपहार हो।

जीवनमा मृत्यु अनिवार्य शर्त हो। जन्म र मृत्यु बीचका सबै क्रियाकलाप एउटा मनुष्य हुनुको जिम्मेवारी हो। केही पाउनु, भोग गर्नु र इहलीला समाप्त गर्नु मात्र नभई केही दिएर जान सक्नु पनि जीवनको एउटा आकर्षक पाटो हो।

आफ्ना र आफन्तको मृत्युको क्षण, आर्यघाट पुग्दा ५ मिनेट जति मौनमा लैजानसक्ने यो शक्तिलाई १० मिनेटपछि फेरि जीवनकै हिसाबकिताब मिलाउन फर्काउँछ मानिस। यो उसको बाध्यता हो या रोजाई? यो सृष्‍टिमा ऊ मात्र एकल व्यक्ति अवश्य होइन, जसले सारा भौतिक सुविधा र अवसर एक्लै प्राप्त गरोस्।

अस्तित्वको महानियम

अस्तित्वलाई राम्ररी थाहा छ-हरेकको हिसाबकिताब कहाँनेर मिलाउनुपर्छ। व्यक्तिको चतुर्‍याईंले छोटकरी खोजे पनि अस्तित्वको महानियममा त्यो हुँदैन। आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह उसले गर्नैपर्छ।

गहिरिएर सोच्ने हो भने हरेक चतुर व्यक्तिले यसको अनुभूति जीवनमा गरिसकेका हुन्छन्। एक व्यक्ति अर्कोमाथि चतुर्‍याईं देखाउन माहिर भएपनि उसको अगाडि कसैले केही गर्न सक्दैन। बरू चतुर्‍याईं नै गर्नुछ भने अस्तित्वको महानियम जान्ने र बोध गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ।

असत्य संसार असत्य देह हो

असत्यको भोग असत्य नै भयो

म सत्य आत्मा फिर जन्मने किन

तलाई मालुम् छ कि यो कुरा मन।

कविशिरोमणि लेखनाथ पौड्यालको बुद्धिविनोद भनौं या आन्तरिक चतुर्‍याईं, चिन्तन भनौं या प्रज्ञा। थोरै मात्र बुझ्ने प्रयास गर्ने हो भने जीवन, जीवनशैली, बाँच्ने तरिका, व्यवहार र लोभ लालच के हो, किन आउँछ, यसको परिणाम के भएको छ, छर्लंग देखिन्छ।

त्यो व्यक्तिको जीवनमा होस् या राजनीतिक नेतृत्वमा : के मात्र घटना भएनन् र हुँदैनन् यो समाजमा, जसले अस्थिरता र असुरक्षा सृजना गरेर सारा जनतालाई भ्रममा राख्न बाध्य गराएका छन्।

न साँध सीमा न त वारपार छ

गम्भीरताको न कुनै किनार छ

मडारिएको समतुल्य भै कन

तँलाई मालुम् छ कि यो कुरा मन।

द्वन्द र स्वार्थ

व्यक्ति भूगोल, पद, अवसर र सम्पन्नताको सीमा आफ्नै पक्षमा पार्न जति दौडधूप गरेको छ, त्यसको कारण नै मनको तृष्णा र द्वन्द्वले आफू हुनुबाट पर पुगेको थाहै पाउँदैन।

विवेकको प्रयोग गर्न छाडेर मन र बुद्धिबीच द्वन्द्वमै जीवन समाप्त गर्न तल्लिन रहन्छ त उसले शान्ति, प्रेम र आनन्द कहाँबाट पाउँछ? आफ्नो चिन्तन, भाव र सीपलाई कहाँ प्रयोग गर्ने त्यसको भेउ नपाउनेले मृगतृष्णारूपी दौडमै जीवनको उद्देश्य देखेको हुन्छ। त्यसो नहुँदो हो त–

म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ

म बाँचूँ मै नाचूँ अरू सब मरुन् दुर्बलहरू

भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी

चिता खित्का छाडी अभयसित हाँस्यो मरि मरी।

कतिखेर यसको बोध होला? यस्तो दुर्भाग्यपूर्ण अवस्थाको परिणति चारैतिर देख्नुपर्छ। माथि त एक्लै नै जानुपर्छ, सबै भौतिक सम्पन्नता यहीँ छुट्छन् र जीवनको उत्तरार्द्धमा पश्चाताप बाहेक केही रहन्न भन्ने बोध आउनसक्ने हो भने चौतर्फी विकास सम्भव छ। स्व–स्थिरता, मृगतृष्णाबाट मुक्ति नै अस्थिरता अन्त्यको माध्यम हो।

चारैतिर देखिएको समस्याको समाधान केवल व्यक्ति भित्र छिपेको छ। स्व–उत्प्रेरणा, स्व–सम्मान, शील, सकारात्मक जीवनशैलीको अभाव नै अराजकताको कारण हो, सहज उपाय जान्न कसैलाई मन छैन, किनकी धेरै दर्शन र राजनीति बुझेकाले आफैलाई बुझ्न जरूरी मान्दैनन्।

मंगल ग्रह कि जीवनमा मंगल?

सहजता, सरलता, प्रेम, शान्ति र सहनशीलता त व्यक्तिबाट टाढा भैसक्यो। यी गुण टाढा हुँदा साथमा के बाँकी रहेका छन् हेक्का होला? कठीन भाषण, कठीन ज्ञान, कठीन योजना, कठीन राजनीति, कठीन बुझाई हुनु विद्वताको मापन बनेको छ।

संसारको ख्याल गर्नु दैनिकी बनेको छ। एकान्त, स्व–चिन्तन र साधनाको लागि बुढेसकाल पर्खेर बसेका छन्। सम्मानको भोक छ, आत्मसम्मानको बोधसम्म छैन।

चिन्तन जागृत हुनसके नकारात्मक विचारको चिन्ता कसरी फैलिन्थ्यो र? मंगल ग्रहमा घर बसाउने सपना देख्ने मानिसले आफ्नो जीवनमा र आफ्नो कारणले अरूको जीवनमा मंगल कसरी बढाउने सोच्ने बिर्सियो। मानिसमा बेहोसीको डिग्री बढ्दैछ।

भौतिकता र धन संग्रह गर्ने लालसाले कतिको जीवनमा अन्याय भएको होला? अहोभाव, धन्यवाद, उमंग, श्रद्धा भाव, आनन्द भावमा कहिले बाँच्ने? त्यति धेरै कूशल अंक गणित पनि छैन सायद, जो जीवनको आखिरी क्षणमा यी काम गरौंला भनेर छुट्याउन सकियोस्।

एकातिर संग्रह र महत्त्वाकांक्षा मै जीवन देख्नेको भीड छ भने अर्कोतिर, जीवनमा उदासी, अल्छी, दुःख र असफलता मात्र देख्नेको भीड छ। सम्यक र मध्य मार्गको कलाबाट अछुतो हुनुको नतिजा न हो यो।

सहज कि कृत्रिम?

म विकास चाहन्छु, तर जीवनशैली बदल्न चाहन्नँ। म परिवर्तन चाहन्छु, तर परम्परालाई त्याग्न सक्दिनँ। म स्वस्थ र मस्त रहन चाहन्छु, तर अनुशासनमा रहन सक्दिनँ। सफलता चाहन्छु, तर मिहिनेत गर्न सक्दिन।

सरल र सहज चाहन्छु, तर तर्कसंगत छु। प्रेम, शान्ति र आनन्द चाहन्छु-प्रेरणा लिन्‍नँ, साधना गर्दिनँ, सकारात्मक हुन सक्दिनँ। सायद मुश्किल छ आफ्नो प्रयास र अनुशासनबिना यी चीजहरू हात परून्। समानता भए पुग्छ, तर न्यायसंगत छ कि छैन-त्यता ध्यान छैन।

अधिकार अरूबाट पाउन चाहन्छु, अधिकारको प्रयोग गर्न चाहन्छु, तर आफैंमा उत्प्रेरित हुन सक्दिनँ। प्राकृतिक सुख चाहन्छु, तर जीवनशैली पूरै देखावटी र कृत्रिम छ।

अस्तित्वको आफ्नै महानियम छ : जसले सिकाएको छ कि– कर्मको विज्ञान अनुसार पनि कुनै कार्य गर्दा आफ्नो भाव अनुसारको प्रतिफल हामी प्राप्त गर्छौं। यदी कार्य आन्तरिक ऊर्जाको कमी या अभावको जगबाट श्रृजित भएको छ भने कर्मको प्रतिफल सफलतामुखी या सकारात्मक नभएर ठीक विपरीत हुन्छ।

हामी आफ्नो कार्य गर्दाको भाव अनुरुप समस्त ब्रह्माण्डबाट उर्जा प्राप्त गर्दछौं, जुनले कर्मलाई सदाका लागि प्रभाव पार्दछ। शान्ति, सम्पन्नता, खुसियाली र आनन्दको सोचबाट कर्म गर्दा त्यो कर्मका वरिपरि एउटा सकारात्मक वातावरणको निर्माण हुन्छ र कर्मको उद्धेश्य पूरा हुन जान्छ।

हामी साधारणतया आफ्नो केही कमी पूरा गर्न कर्म गर्छौं। यस्तो अवस्थामा हामीभित्र रहेको अभावको वातावरणले कर्मलाई ग्रसित पार्छ र परिणाम सुखद हुन पाउँदैन।

जीवनको अन्तिम क्षणमा के सुन्न चाहने?

सबैले थाहा पाएको कुरा हो–सोचाईको शक्ति अजीव हुन्छ।

हामीले धन चाहेको हो या पद, सुख शान्ति चाहेको हो या द्वन्द्व, जे चाहेका छौँ-त्यो प्राप्त गर्न सक्छौं। विचारहरूलाई सधै निर्देशन दिइराख्ने हो भने त्यसबाट जे चाह्यो त्यो पूरा हुन्छ। सबै कर्मको फल हाम्रै विचारका परिणाम हुन् भने नराम्रो कर्मको फल पनि हाम्रै नराम्रा विचारका फल हुन्। किनकि हामीले हाम्रो विचारलाई नकारात्मक निर्देश पनि गर्‍यौं।

त्यसैले हामी राम्रो चाहन्छौं भने किन राम्रो सोचाई नगर्ने? आखिर हाम्रा कर्मका फल हाम्रै सोचाइका परिणाम हुन्। सुनेको भरमा यी कुराको बोध हुँदैन, हामीले आफैँ आर्जन गर्नुपर्छ। आर्जन गर्नको लागि सधै होस् पूर्ण भएर के गरिरहेका छौं? के को लागि गरिरहेका छौ? र कहाँ गैरहेका छौं? थाहा पाउनु जरूरी छ।

हामी कहाँ दौडिरहेका छौ थाहा छैन भने हामी कहीँ पनि गइरहेका छैनौं। एउटा हिन्दी फिल्ममा संवाद थियो –‘मैले मान्छे ओलम्पिक या सेनामा भर्ती हुँदा दौडेको देखेको थिएँ, तर तिमी सधैँ के का लागि दौडिरहेका छौ?’ के हामी पनि यस्तै गन्तव्य बिनाको दौड दौडिरहेका त छैनौं?

याद गरौँ-आखिर माथि त एक्लै नै जानुछ, जहाँ कुनै प्रतिस्पर्धा नै नगरी अस्तित्वको बोलावटमै जानुपर्दछ। त्यो दिन हाम्रो बारेमा हामी के सुन्न चाहन्छौं? आज त्यही व्यवहार र कर्मप्रति प्रेरित बनौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.