दिनभर उद्घाटन र शिलान्यास कार्यक्रम

|

झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्। यति एयरलाइन्सको पहिलो विमानबाट आइतबार झापा आइपुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई समूह विभाजित भएपछि प्रधानमन्त्री पहिलो पटक गृह जिल्ला आएका हुन्। नेकपा विभाजित भएकाले चन्द्रगढी विमानस्थलमा यस पटक सुरक्षा व्यवस्था कडाइ पारिएको थियो। उनको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन्।

प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी', मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईँ, ओली निकट सांसद्, केन्द्रीय नेता, स्थानीय तहका प्रमुखहरु विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, नेकपा नेता सुवास नेम्बाङ, महान्यायाधिवक्ता अग्नि खरेल झापा आएका छन्। प्रधानमन्त्री ओली विमानस्थलबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रस्थान गरिसकेका छन्। 

प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुलको उद्घाटन गर्ने पहिलो कार्यक्रम रहेको छ। त्यसैगरी दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन, बहुचर्चित नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास, इलामको चुलाचुली जोड्ने पुलको उद्घाटन, मदन भण्डारी मार्गअन्तर्गत दमकको बेलडाँगी र इलामको बुकुवाबिचको रतुवा खोलाको पुलसहित अन्य ३१ वटा पुलको संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आइतबार साँझ ५:३० बजे भद्रपुरबाटै यति एयरको जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.