स्थानीयले सिसडोलमा चैतदेखि फोहोर फाल्न नदिने

|

काठमाडौं : जब बर्खा लाग्छ - काठमाडौं उपत्यकाको सडक किनारामा फोहोरको पहाड नै लाग्छ। यसको प्रमुख कारण हो : हिउँदमा झैं बर्खामा फोहोर संकलन र व्यवस्थापन गर्न नसक्नु।  

फोहोरको दुर्गन्धका स्वास लिन नै गाह्रो हुन्छ। नुवाकोट साविकको ओखरपौवा हालको ककनी गाउँपालिका-२ स्थित सिसडाेलमै विगत १५ वर्षदेखि काठमाडौं, ललितपुर लगायत ठाउँको फोहोर व्यवस्थापन हुँदै आएको छ।

तर, फोहोर बोकेका गाडी बर्खायाममा त्यस ठाउँमा पुग्न सक्दैनन्। त्यसको असर सीधै काठमाडौं उपत्यकामा पर्छ। फोहोर सडकमै थुप्रन्छ, जसकारण शहर नै कुरुप हुने गर्छ।

काठमाडौं महानगरपालिकाका अनुसार २०६२ सालमा तीन वर्षसम्मका लागि मात्रै फोहोर व्यवस्थापन गर्ने गरी तत्कालीन स्थानीय विकास मन्त्रालयले स्थानीयसँग सहमति गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्ने गरेको थियो।

तर, महानगरपालिकाले दीर्घकालीन फोहोरको व्यवस्थापन गर्न नसक्दा सिसडाेलबासीको विरोध बाबजुद पनि त्यही ठाउँमा फाल्ने गरिएको छ।

विगतझैँ फोहोरको दुर्गन्धमा रुमलिने सर्वसाधारणलाई चिन्ता

पहिलाको बर्खाको जस्तै फेरि पनि यही बर्खामा फोहोरको दुर्गन्धमा बस्नुपर्ने हो कि भन्ने चिन्ता अहिले नै टेकुका रामबहादुर श्रेष्ठलाई लाग्न थालेको छ। उनले थाहाखबरसँग भने, ‘काठमाडौंको फोहोरमैला व्यवस्थापनको समस्या अहिले मात्रै होइन, पहिले देखिकै हो। सबैभन्दा बढी बर्खाको सिजनमा समस्या आउँछ, फोहोर उठ्दैन, बाटोभरि छरपस्ट हुन्छ, आखिर असर त हामीलाई नै हुने हो।’

केन्द्र र स्थानीय सरकारले नै उपत्यकाको फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्नमा चासो नदेखाएका कारण यस्तो समस्या आउने गरेको उनको बुझाइ छ। ‘महानगरपालिकाले खै अहिलेसम्म व्यवस्थित ढंगले फोहोर व्यवस्थापन गर्न सकेको छैन। बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्नेबारे त सुनिएको हो। खै कहिले बन्ने हो,’ उनले थपे। 

जापानी सहयोग नियोग (जाइका)ले सन् २००२ मा उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरेको थियो।

त्यहाँ ल्यान्डफिल साइट बनाउन एक अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान थियो। जाइकाले सो ल्यान्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो। तर, बन्न सकेन।

शहरी विकास मन्त्रालयका भवन निर्माण विभागका उप-महानिर्देशक कुमार प्रसाद घिमिरेका अनुसार दीर्घकालिन फोहोर व्यवस्थापनका लागि नुवाकोट–धादिङ सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइड बनाउने सरकारले योजना ल्यायो।

ल्यान्डफिल साइट निर्माणका लागि पहिलो र दोस्रो गरी दुई सेल (फोहोर फाल्ने कम्पाउन्ड) निर्माण गर्ने अनुरुप पहिलो सेलको २०७६ वैशाख महिनामा एक वर्षमा सम्पन्न गर्नेगरी एक हजार एक ७ सय १९ रोपनी जग्गामा ल्यान्डफिल निर्माण निम्ति ठेक्का सम्झौता भयो।

३४ करोड रुपैयाँ लागतमा लुम्बिनी/कोशी/न्यौपाने जेभीले दुवै सेलको ठेक्का पाएको छ। 

मन्त्रीको सस्तो वाचा टिकेन

२०७६ माघ १४ गते बञ्चरेडाँडामा काम अवरोध भएपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडाको छड्के अनुगमन गरे।

त्यसबेला 'समृद्ध नेपाल सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न यो परियोजना तोकिएकै समयमा सक्नुको विकल्प नभएको उनले बताएका थिए। 

राज्यमन्त्री मानन्धरले नै २०७७ असोज महिनामा बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको काम अवलोकन गर्दै दशैँअघि नै अगाडि नै सम्पन्न हुने बताएका थिए। त्यसबेला उनले करिब ९० प्रतिशत काम सकिसकेको समेत दाबी गरेका थिए। 

पूर्व शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ कात्तिक महिनामा शहरी विकासको जिम्मेवारी पाएपछि बञ्चरेडाडाँको अनुगमन गरे।  उनले पनि आलटाल नगरी एक महिनाभित्र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

तर, ठेक्का सम्झौता भएको तीन वर्ष पुग्न लाग्दा पनि अहिले सम्म उनीहरूले दिएको बाचा पूरा हुन सकेको छैन।

महानगरलाई फोहोर व्यवस्थापनकै चिन्ता

फोहोरमैला व्यवस्थापन गर्नु महानगरपालिकाको दायित्व हो। तर, व्यवस्थापन गर्न सकिरहेको छैन।

महानगरपालिका अन्तर्गतको वातावरण प्रशासन महाशाखा प्रमुख सरिता राईका अनुसार उपत्यकामा दैनिक एक हजार ५४ टन फोहोर निस्किन्छ। महानगरपालिकाबाट मात्रै दैनिक पाँच सय १६ टन फोहोर निस्किन्छ।

‘ललितपुर महानगरपालिका, कामपा दुई महानगरपालिका र १७ वटा नगरपालिकाबाट निस्केको यी सबै फोहोर फाल्ने ठाउँ सिसडोलमै हो,’ राईले भनिन्‌, ‘अहिले बञ्चरेडाँडाको ल्यान्डफिल साइट शहरी विकास मन्त्रालयले हेरेको छ। बर्खा शुरू हुनुभन्दा अगाडी ल्यान्डफिल साइट तयार भएन भने फोहोर व्यवस्थापन गर्न समस्या पर्नेछ।’

बञ्चरेडाँडा बाहेक अरू ठाउँमा फोहोर फाल्ने महानगरपालिकासँग विकल्प नरहेको उनको भनाई छ। 

के भन्छन् सिसडोलबासी ?

फोहोर भरिएको भन्दै सिसडोलबासीहरूले पटक–पटक विरोध गरेर त्यहाँ फोहोर फाल्न दिएका छैनन्। फोहोर भरिएकै कारण यस वर्षबाट त्यहाँ फोहोर फाल्न नदिने अडान उनीहरूले लिएका छन्।

सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले सिसडोलमा फोहोर भरिएर राख्ने ठाउँ नहुँदा पनि महानगरपालिकाले जबरजस्ती फोहोर फाल्ने गरेको भन्दै दु:खेसो पोखे।

‘फोहोरबाट चुहिएको पानीले बसिसाध्य छैन,’ उनले भने, ‘बर्खाको समयमा झनै त्यहाँको अवस्था भनिसक्नु छैन।’ उनका अनुसार पहिला महानगरपालिकाले बढीमा २५ वटा गाडी फोहोर सिसडोलमा लाने गरेको थियो। अहिले दैनिक पाँच सयभन्दा बढी टिपरले फोहोर लाने गरेका छन्।

अध्यक्ष ढुंगानाले गत सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यकै अगाडी अबदेखि व्यवस्थित ढंगले सिसडोलमा नभई अन्य ठाउँमै फोहोर व्यवस्थापन गर्न माग गरेका थिए। जग्गाको मुआब्जा समेत अझै नपाएको उनीहरूको गुनासो छ।

कहिले बञ्चरेडाँडामा फोहोर फाल्न पाइएला ?

भवन निर्माण विभागका उप-महानिर्देशक घिमिरेले सामग्री अभावका कारण अहिले तीव्र गतिमा काम गर्न नसकिएको तर्क गरे। उनले भने,‘कोभिड–१९ ले पनि काम भने अनुसार गर्न सकिएन।

अहिले केही सामग्रीहरू उपलब्ध हुन सकेको छैन।’ उनले ८५ प्रतिशत काम सम्पन्न गरिसकेको जानकारी दिदै चैत महिनाभित्र बाँकी काम सम्पन्न गर्ने जानकारी दिए।

‘अब फोहोर फाल्ने डम्पिङ साइटको वाल हाल्ने काम बाँकी छ,’उनले भने,‘अबको एक महिनाभित्रमा सकिन्छ। त्यसपछि त्यहाँ फोहोर फालिन्छ। अर्को सेल फेरि निर्माण गर्दै जान्छौँ।’

अहिलेसम्म करिब १२ करोड निर्माणमा खर्च भएको उनले जानकारी दिए। ल्यान्डफिल साइट बनेपछि त्यस ठाउँमा ५० वर्षसम्म फोहोर फाल्न मिल्ने मन्त्रालयको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.