|

काठमाडौं : सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल बस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको जनाएको छ।

फागुन १८ गते मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सो वस्ती शिलान्यास गर्न लागेका हुन्। उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ।

बस्ती विकास कार्यक्रमका लागि उक्त समुदायमा गएर गरिएको सर्भेक्षणअनुसार उक्त नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आफ्नो घर बनाउन नसक्ने स्थिति रहेको मन्त्रालयको भनाइ छ। 

अहिले मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो। पूरै बस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने जनाइएको छ।

मन्त्रालयमातहत सघन सहरी तथा भवन निर्माण विभागका अनुसार रातोहोलीको उत्तर दक्षिण फैलिएको ७८० मिटर लम्बाई भित्र पर्ने करिब ५२,८२८ वर्ग मिटर जग्गाबाट खोल्सीको बहाव रेहेको चौडाइ ११ मिटर, रातोहोलीको २७ मिटर चौडाइमा पर्ने २१,०६० वर्गमिटर जग्गा छाडी बाँकी खोल्सी पूर्वको ३१,७६८ वर्ग मिटर जग्गामा सन्थाल एकीकृत बस्ती विकास गर्न लागिएको हो। 

बस्ती विकाससन्बन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल बस्तीको निर्माण स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ शयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने विभागले जनाएको छ।

समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, सामुदायिक भवनलगायत निर्माण गर्नेगरी मास्टर प्लान डिजाइन गरिएको हो।

मन्त्रालयले उर्लाबारीको सम्भावित चार वटा स्थानहरु रातोहोली खोल्सीको जग्गा, बक्राहा खोला किनारा रातोहोली पारीको क्षेत्र, मावा खोला किनारा क्षेत्र तथा नारी शिल्प केन्द्रको जग्गामध्ये रातोहोली खोल्सीको जग्गामा सो बस्ती निर्माण गर्ने निर्णय भएको थियो। 

प्रभु साहले शहरी विकास मन्त्रीको पद सम्हालेको दुई महिनामै यो दोस्रो ठूलो परियोजनाको शिलान्यास हुन लागेको हो। यसअघि गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नै चितवनको भरतपुर महानगर सिटी हलको शिलान्यास गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.