|

सल्यान : सल्यानमा अदुवाजस्तै बेसार खेतीले पनि ठाउँ लिन थालेको छ। नगदेबाली बेसारको माग बढ्दै जान थालेपछि खाद्यन्नबाली त्यागेर किसानहरू यसतर्फ आकर्षित भएका छन्।  

नेपालमै पहिलो पटक सिफरिस भएको एक मात्र उन्नत जातको 'कपुरकोट हलेदो' १ र 'कपुरकोट हलेदो २' जातको हलेदो र लोकल बेसार (हलेदो) को माग धेरै हुने गरेको अदुवा बेसार अनुसन्धान केन्द्र कपुरकोटका सूचना अधिकारी खेमराज शर्माले जानकारी दिए। 

जिल्लामा उत्पादित उन्नत जातको बिउ मागअनुसार पुर्‍याउन सकिएको छैन। शर्माका अनुसार लोकल बिउको समेत माग बढ्न थालेको छ। उनले भने, 'काठमाडाैं, धनकुटा, बर्दिया, कन्चनपुरलगायत ​ठाँउबाट अत्याधिक मात्रामा बिउको माग हुने गरेको छ। 

सल्यानबाट वार्षिक तीन करोडको बेसार निर्यात

चालु आर्थिक वर्ष ०७७/०७८ मा २ करोड, ७० लाख,७ सय,५० रुपैयाँ बराबरको बेसार निर्यात भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए।

जिल्लामा उत्पादित बेसारमध्ये १ करोड ९ लाख ४६ हजार २ सय ५० बीउको रुपमा र १ करोड ६० हजार ५४ हजार ५ सय रुपैयाँको बेसार निर्यात भएको कार्यालयले जनाएको छ। 

बेसारबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानको कालिमाटी गाउँपालिका काल्चे घुरचौरका ६० परिवारले खाद्यान्नबाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन्। यहाँका स्थानीयले वार्षिक दुई सय ५० रोपनी बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गर्दै आइरहेका छन्।

आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती बढिरहेको स्थानीय हरिबहादुर खड्काले बताए। स्थानीय बजारमै एक सय ५० देखि दुई सय रुपैयाँ प्रति किलोमा बेसार बिक्री हुने भएकाले पनि स्थानीय हौसिएका उनको भनाइ छ। 

स्थानीय  हरिबहादुर खड्काका अनुसार पहिलो वर्ष ८४ रोपनी जग्गामा बेसार खेती गरिएको थियो। जसबाट २५ हजार ६ सय किलो उत्पादन भएको थियो। यस वर्ष दुई सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.