|

काठमाडाैं : राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताएकी छन्। 

राष्ट्रपति भवन, महाराजगञ्जमा आइतबार आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानी अनुरुप प्रतिफल हासिल गर्नुपर्ने बताइन्। 

'विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ। सम्पूर्ण समाज यसको महत्वपूर्ण सरोकारवाला पक्ष हो। तसर्थ, विद्यालय र सामाजिक संगठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्दछ भने सरकारका सम्बन्धित निकायले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्दछ।'

नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके चाँडै प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा राष्ट्रपतिले व्यक्त गरिन्।

बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रुपमा रहेको घरपरिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले समाजमा चुनौतीको रूपमा देखिएको बाल दुर्व्यवहारर र बाल यौन हिंसा न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामुहिक पहल जरुरी रहेकोमा जोड दिइन्। 

कार्यक्रममा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ सचिव रामप्रसाद थपलिया लगायत शिक्षाका सरोकारवाला संस्थाका प्रमुख प्रतिनिधि गरि करिब ३० जना सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.