|

चितवन : सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापना भएपछि बैशाख १७ र २७ गते गर्ने भनिएको मध्यावधि निर्वाचनको च्याप्टर बन्द भएको छ। निर्वाचन सम्बन्धि कार्यक्रमहरू स्थगित भएका छन्। निर्वाचन आयोगले भने फागुन २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ।

जिल्लाहरूबाट मतदाताहरूको प्रारम्भिक विवरण आयोगमा पुगिसकेकाले अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा आयोग छ। आयोगले पुष ५ गतेदेखि रोकिएको मतदाता नामावली दर्ता कार्यक्रम अहिलेसम्म खोलेको छैन। चितवनमा निर्वाचनको तयारी गर्दा झण्डै ४ लाख रुपैयाँ खर्च भएको छ। सर्वाेच्चको फैसला नआउँदै आयोगले निर्वाचनको तयारीलाई तीव्र बनाउँदा अनावश्यक खर्च भएको हो।

निर्वाचन लक्षित सूचना प्रसारण गर्न सञ्चार माध्यमलाई १५ हजार, दाबी-विरोध कार्यक्रम खटिएका चार कर्मचारीलाई पारिश्रमिक र स्टेशनरी लगायतका कार्यक्रममा करिब तीन लाख ८७ हजार रुपैयाँ खर्च भएको निर्वाचन कार्यालयका लेखापाल चन्द्र पौडेलले जानकारी दिए।

‘स्थानीय तहमा मतदाता विवरण अद्यावधिक गर्न गएका कर्मचारीलाई आतेजाते गाडी भाडा र नाम दर्ता अधिकारीको पारिश्रमिक सहित गर्दा करिब तीन लाख ८७ हजार खर्च भएको छ’, उनले भने।

संसद पुनःस्थापना भइसकेपछि पनि मतदाता नामावली दर्ता कार्यक्रम सुरु गर्ने विषयमा आयोगले कुनै निर्देशन नदिएको जिल्ला निर्वाचन कार्यालय चितवनले बताएको छ।

यस विषयमा आयोगले कुनै आदेश नदिएकाले मतदाता नामावली दर्ताको काम अन्यौल बनेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले बताए। ‘मतदाता नामावली दर्ताको काम सुरु भएको छैन’, उनले भने, ‘सेवाग्राहीहरू सम्पर्कमा आउनुभएको छ। आयोगले कुनै आदेश नदिँदा अन्यौलता रहेको छ। आदेश पर्खिएर बसेका छौँ।’

निर्वाचनको तयारी अन्तर्गत जिल्लामा मतदान केन्द्र र मतदाताहरू नामावली अद्यावधिक गरी अनुमानित विवरण आयोगमा पठाइएको उनले बताए। १६१ वटा मतदान स्थल र ४२६ वटा मतदान केन्द्र कायम गर्न आयोगमा सिफारिस गरिएको उनले बताए। त्यस्तै, तीन लाख ६८ हजार ७४९ मतदाताहरूको अनुमानित अद्यावधिक विवरण पठाइएको उनको भनाइ छ।

‘जिल्लाभित्र दोहोरो पालिकाहरू परेका मतदाताको नामावली अद्यावधिक गरेका छौँ, नागरिकता त्यागेका र मृत्यु भएका मतदाताको नामावली पनि हटाएका छौँ,’ उनले भने, ‘अब आयोगले दोहोरो जिल्लामा परेका मतदाताको अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्छ।’ निर्वाचन कार्यालयले मृत्यु भएका ३६५, दोहोरो पालिकामा परेका दुई र नागरिकता त्यागेका दुई मतदाताको नामावली हटाएको निर्वाचन अधिकारीले बताए। कार्यालयले १६ जना मतदाताको नामावली सच्याएको छ।

प्रारम्भिक अनुमानित विवरण अनुसार चितवन निर्वाचन क्षेत्र नं १ मा एक लाख २५ हजार ३७४, निर्वाचन क्षेत्र नं २ मा एक लाख १३ हजार १८० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख ३० हजार १९५ मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.