जाजरकोट : फागुन महिना शुरू हुँदै गर्दा सबैलाई चिसो छिचोल्दै तातो मौसम लागेको अनुभूति हुने गर्छ। निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एक खालको खुशी नै आउने गर्छ।
चिसो मौसम सबैका लागि उस्तै खालको भएपनि हुने हुनेखाने र आर्थिक रूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ। कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम खासै थाहा नहुने गरेको छ।
६ महिनाभन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जान समेत प्रकृतिक नाकाबन्दी हुने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूति भने गर्न खासै नपाउने गरेको शे-फोक्सुण्डो गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए।
चिसो मौसममा ज्यान जोगाउन सदरमुकाम दुनै लगाएका ठाउँमा आफ्नो थातथलो छोडेर अधिकांश मानिसहरू आउने गर्दछन्। जब तातो मौसम शुरू हुन्छ-हिउँ पग्लिन्छ, गाउँमा हिउँ पग्लिन्छ अनि सर्वसाधारणहरू आफ्नो थातथलोमा फकिने गरेको अधिकृत न्यौपाने बताउँछन्।
स्थानीयवासीहरूले हिमपात र प्रकृतिक नाकाबन्दी हुँदा पनि थातथलो नछोड्ने भएकाले सरकारी सेवा पुर्याउनका लागि भएपनि दुई दिन पैदल हिँडेर कार्यक्षेत्रमा जानुपर्ने बाध्यता रहेको न्यौपानेले पीडा सुनाए। कर्मचारीहरूले खाना र आवासको व्यवस्थापन अर्को चुनौती भएको पीडा सुनाउने गरेका छन्।
कर्णालीका हुम्ला र मुगुमा समेत यही समस्या हुँदै आएको छ। बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नहुँदा ज्यान अचानोमा राखेर सेवा प्रवाह गरिरहेको जस्तो अनुभूति हुने कर्मचारीहरू बताउँछन्।
अक्सिजनको अभावका साथै आवश्यक बन्दोबस्तीका सामग्री लिन समेत मुस्किल हुने कारणले गर्दा सेवा प्रवाह निकै खर्चिलो हुँदै आएको छ। छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको र भाषा समेत नबुझिँदा काम गर्न मुस्किल हुने कर्मचारीहरू बताउँछन्।
सदरमुकाम दुनैमा १ हजार ९ सय रुपैयाँ दरमा पाइने २५ केजी चामलको मूल्य उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका प्रशासकीय केन्द्र सालदाङमा ५ हजार रुपैयाँसम्म पर्छ। गाउँपालिकाको केन्द्रमै बिजुलीबत्ती समेत छैन।
एक वडाबाट अर्को वडामा जानका लागि मात्र दुई दिनभन्दा बढी समय लाग्ने भएकोले सेवा दिन समेत मुस्किल मात्र होइन, कहाँ के भइरहेको छ भन्ने सूचना समेत सजिलै दिन र लिन सक्ने अवस्था नरहेको न्यौपाने बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।