|

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ। कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

प्रशासन कार्यालयले सोमबार प्रेस विज्ञप्तिमार्फत तीन सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ। विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए। 

 ‘घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानबिन गरी आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ।’ बरालले  भने। 
कारागार कार्यालयभित्र रहेको ब्लक बीमा आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका कैदी र सोही ब्लकमा रहेका अन्य थुनुवा, कैदीबीच कारागारभित्रको सेवा सुविधामा विभेद गरेको भन्ने विषय बनाएर झगडा हुँदा पाँच कैदी घाइते भएका थिए।

उनीहरुलाई दमौली अस्पतालमा उपचारपश्चात् कारागारमै फिर्ता गरिसकिएको छ। कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार झगडामा संलग्न २५ कैदीबन्दीलाई स्थानान्तरण गरिसकिएको छ। सुरक्षा निकायको बैठकको निर्णय अनुसार उनीहरुलाई आइतबार राति नै स्थानान्तरण गरिसकिएको उनले बताए। 

२५ कैदीबन्दी स्थानान्तरण

जिल्ला कारागारबाट २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ। आइतबार अपराह्न कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित सुरक्षा निकायका प्रमुखको बैठकले झडप र विवादमा संलग्न कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णयबमोजिम राति नै उनीहरुलाई स्थानान्तरण गरिसकिएको निमित्त जेलर अधिकारीले जानकारी दिए। 

‘दुई समूहबीच भएको विवादका कारण सामान्य झैझगडा भएको हो। उक्त घटनामा छ जना घाइते भएकामा उपचारपश्चात् उनीहरु घर फर्किसकेका छन्।’उनले भने। कारागारमा केही समय अगाडि स्थानान्तरण भई आएका कैदीबन्दीका कारण झगडा भएको कारागार स्रोतले जनाएको छ। नाइके फेर्नुपर्ने मागमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.