|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव पक्षले विधि र पद्धतिको कुरा गरेर अरुको लागि ‘कम्फर्टेबल’ सरकार बनाउनतिर लागेको बताएका छन्। 

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘देशभित्र र देश बाहिरबाट निरन्तर हमला भइरह्यो। हामीले स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित गर्न चाहान्छौँ। त्यसै कारणले अहिलेको संघर्ष भइरहेको छ। देशको हित विपरित कुनै काम गर्दैनौँ। देशको रक्षा गछौँ।’

केही व्यक्तिगत स्वार्थको कारणले देश संकटतर्फ धकेल्न खोजेको आरोप लगाए। ‘हामी हरेक परिस्थितीको सामना गछौँ। हामीले लडेर ल्याएको उपलब्धि रक्षा गर्नका लागि लडिराख्छौँ’ उनले भने, ‘अहिले आपराधिक मानसिकताको विरुद्ध लडिरहेका छौँ। उहाँहरु जालझेल र तिकडममा लागि राख्नुभएको छ।’

उनले आफूहरुले सही बाटो लिएको हुनाले पछि नहट्ने तर्क गरे। प्रचण्डले आफूविरुद्ध १९ पृष्ठकाे आरोपपत्र ल्याउनुकाे कुनै अर्थ नभएको उनकाे दाबी छ।

‘पार्टी ठीक ढंगले अघि बढेको छ, बढ्छ’ उनले भने, ‘केन्द्रीय कमिटीमा बहुमतको कुरा गरिराख्नुभएको छ। त्यो कुनै निर्वाचित भएर आएको कमिटी होइन। मैले नै पार्टी एकता गर्दा ल्याएर राखेको हुँ।’

पार्टी कब्जा गरेर कम्फर्टेबल सरकार बनाइदिनेतिर लागिरहेको उनले आरोप लगाए। ‘यो देश र जनतालाई सेवा गर्ने सरकार होइन। कसैका लागि कम्फर्टेबल सरकार बनाउने योजना पो रहेछ’ उनले भने, ‘जुन हातले नाम राख्यो। हटाउन पनि सक्छ। देव गुरुङलाई प्रमुख सचेतक बनाएको थिए। हटाइदिएँ मैले बनाएको नै हो।’

अहिलेसम्म पार्टीभित्र उहाँहरुको पद नचलाएको उनले बताए। ‘उहाँहरु आफै अध्यक्ष, दलको नेता हुनुभयो’ उनले भने, ‘आफै लड्डु पनि खानुभयो।’

बैठक बोलाएको ठाउँमा नभएर सडकमा निस्किएर विधि पद्धतिको कुरा गरेको नसुहाउने उनले बताए। ‘कार्की बैँक्वैटमा गएर भोज खान आएको मान्छेलाई गनेर बहुमतको कुरा हुन्छ’ उनले भने, ‘उहाँहरुको बहुमत कहाँ काम लाग्यो?’

प्रचण्ड–माधव पक्ष प्रधानमन्त्री खोज्ने दौडमा लागेको उनले सुनाए। उनले उहाँहरुले विधि र पद्धतिमा आएर डेढ बर्ष प्रतिपक्षमा बसेर त्यसपछिको निर्वाचनमा दुई तिहाई ल्याउन सक्ने दाबी गरे। 

‘संसदभित्र संसदीय अभ्यासबाट नभएर गल्त्याएर निकाल्ने कुरा गर्दै हिँड्नुभएको छ। बरु प्रधानमन्त्रीसँग कुर्सी खेलाउने, जसले जित्छ। त्यही प्रधानमन्त्री हुन्छ भन्तेतिर लाग्नुभएको भए पनि हुन्थ्यो नी’ उनले भने। 

निर्वाचन भएको भए देशले फड्को मारिसक्ने बताउँदै देश पुनः अन्यौलतातर्क धकेलिएकाे उनकाे तर्क छ। अदालतको निर्णय मानेर सरकारले संसद बैठक समेत आह्वान गरिसकेको उनले सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.