|

मकवानपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले आफ्नो पार्टीकै अगुवाइमा केही दिनमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। 

नेकपा प्रचण्ड–माधव निकट प्रेस संगठन नेपालको बागमती प्रदेशस्तरीय भेलालाई आज सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्दैै नेता भट्टराईले केही दिनमा नै ओली सरकार पदमुक्त हुने उद्घोष गरे। 

ओलीसँग नैतिकता भए अहिले पनि राजीनामा दिएर पदत्याग गरी क्षमा माग्नुपर्ने भट्टराईले बताए। ‘ओलीसँग नैतिकता छ भने पद त्याग गरी क्षमा माग्नुपर्छ, अनि अर्को ढंगबाट अघि बढ्न सकिएला,’ उनले भने, ‘ओलीले आफ्ना गल्ती कमजोरी, आफूले दिएको धोका सम्झेर आफ्नो कार्यप्रति प्रायश्चित गनुपर्छ।’ 

ओली आफ्नो पद रक्षाका लागि जातजाति तथा धर्मलाई अहिले प्रयोग गर्नमा लागिपरेको पनि उनले आरोप लगाए। प्रधानमन्त्री ओलीको यस्ता कदमले मुलुक द्वन्द्वतिर जाने खतरा रहेको नेता भट्टराईको तर्क छ।

ओलीले संविधान मिच्दा पनि केही पत्रकारले त्यसको विरोधको साटो ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य र दुःखद भएको पनि उनले बताए। 

भेलामा नेकपा केन्द्रीय सदस्य एवम् सहइञ्चार्ज, प्रेस सङ्गठनका संयोजक महेश्वर दाहाल, पार्टी केन्द्रीय सदस्य एवम् प्रेस सङ्गठनका सहइञ्चार्ज ओम शर्मा, नेकपा केन्द्रीय सदस्य एवम् प्रस सङ्गठनका सहइञ्चार्ज विष्णु रिजाल लगायतले प्रधानमन्त्री ओलीले शासकले देशका उपलब्धि सकाउन खोज्दा मिडियाकर्मीले खबरदारी गर्नुपर्नेमा जोड दिए। 

हेटौंडा घोषणापत्र जारी 

प्रेस संगठन नेपाल बागमती प्रदेशको दोस्रो भेलाबाट पारित विभिन्न १३ बुँदे घोषणापत्र पनि जारी गरिएको छ। घोषणापत्रमा देशमा आमूल  परिवर्तनका  लागि जीवन  बलिदान  गर्ने, पत्रकारिता  क्षेत्रका शहिद कृष्ण सेन  इच्छुकलगायतप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी निर्णय उल्ट्याउँदै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने भनी गरेको ऐतिहासिक फैसलाको स्वागत गर्दै लोकतन्त्र र संविधानको रक्षा गरेको भेलाले ठहर गरेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.