मूलगेटमै ताला लगाए

|

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट आठ लाख रुपैयाँ घुस रकम बरामद भएपछि स्थानीयवासी आन्दोलनमा उत्रेका छन्। 

मंगलबार बिहानैदेखि स्थानीय राजनीतिक दल, नागरिक समाजसहित गाउँबासी आन्दोलनमा उत्रेका छन्। कमिसनको रकम फालेर गाडीबाट हाम फाल्दै फरार भएका गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ। 

उनीहरु गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै विभिन्न मागसहित धर्नामा बसेका छन्। नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत नागरिक समाज र गाउँबासी गाउँपालिका कार्यालय अध्यक्षको कार्यकक्ष, योजना, प्रशासन, लेखालगायत शाखा तथा मूलगेटमै तालाबन्दी गरिएको छ। 

उनीहरुले गाउँपालिकाको भित्ता र ढोकामा ८ लाख घुस लिने घुसखोरी राउत मुर्दावाद, सम्पूर्ण विकासे योजना सार्वजनिक गर, भ्रष्टाचारी गाउँपालिका अध्यक्ष राउतलाई कारबाही गर लगायतको नारासमेत कागजमा लेखेर टाँसेका छन्। 

फरार गाउँपालिका अध्यक्ष राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न तथा सम्पत्ति शुद्धीकरण, गाउँपालिकाको हरहिसाब सार्वजनिक, छानबिनलगायत माग आन्दोलनमा उत्रिएकाहरूको छ। 

एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैयाँ लिएको छ। अध्यक्ष राउतले सुरुदेखि नै उपभोक्ता समिति, कर्मचारी र ठेकेदारलाई थर्काएर मोटो रकम कमिसन लिँदै आएको थियो।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई थप अनुसन्धान गर्न अख्तियारसँग माग गरेका छन्।

एक जना स्थानीयले नाम नखुलाउने सर्तमा भने, 'अध्यक्ष राउतले भ्रष्टाचार गरी गाउँमा तथा काठमाडौंमा आफन्तको नाउमा करोडौं मूल्य बराबरको जग्गा किनेका छन्।

व्यापक भ्रष्टाचारको आरोप लाग्दै आएका अध्यक्ष राउत कारबाहीबाट बाँच्नकै लागि नेकपा ओली पक्षमा लागेको स्थानीयहरुले जानकारी गराए।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले गाउँपालिका अध्यक्ष राउतले लिएको आठ लाख रुपैयाँ घुस रकम साँझ बरामद गरका थिए।

गाउँपालिका अध्यक्ष राउतले चढ्ने  प्रदेश २–००२–००१ झ ०००२ नम्बरको गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको थियो र गाउँपालिका अध्यक्ष राउत भने गाडीबाट कुदेर भाग्न सफल भएका थिए। 

अध्यक्ष राउत सोमबार ४ बजे गाउँपालिकाको भवन निर्माण योजनाको भुक्तानीमा ८ लाख रुपैयाँ कमिसन लिन धनुषाको महेन्द्रनगर पुगेका थिए।

भाग्ने क्रममा औरहरी खोलाको किनारमा गाउपालिका अध्यक्षले पैसा भएको झोला फालेका थिए। चालकले तीव्र गतिमा गाडी कुदाएर अध्यक्ष राउतलाई बाटोबाटै भगाउन सफल भए। गाउँपालिकाको कार्यालय पछाडिबाट गाडी र चालकलाई अख्तियारले नियन्त्रणमा लिएका थिए। 

फरार गाउँपालिका अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जानकारी दिए। तालाबन्दी र स्थानीयको धर्नाले गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.