|

बैतडी : बैतडीमा रहेको नेपाल–भारत सिमा नाका झुलाघाटबाट आवतजावत गर्न परिचयपत्र अनिवार्य गरिएको छ। फागुन १३ गते झुलाघाटमा सम्पन्न नेपाल र भारतका जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठकले उक्त निर्णय गरेको हो।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी ल्याउन परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। कोरोना महामारीका कारण लामो समय बन्द भएको नाका सञ्चालनमा आएपछि आपराधिक गतिविधि हुनसक्ने भनेर परिचयपत्र अनिवार्य गरिएको प्रहरीको भनाइ छ। प्रहरी नायब उपरीक्षक अधिकारीले भने, ‘कुनै व्यक्ति आपराधिक गतिविधि गरेर भागिरहेको भए परिचयपत्र भएपछि उसलाई समात्न सजिलो हुन्छ।’

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुबै पक्षबीच सहमत भएका थिए। 
 
विश्वव्यापी  रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण र रोकथाम गर्न लागि नेपाल सरकारले गत चैतदेखि अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरेको थियो। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघदेखि सञ्चालनमा आएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.