|

काठमाडौं : लक्ष्मी प्रतिष्ठानले नि:शुल्क छात्रावासलाई दिगो संचालन गर्न र अन्तरिक पर्यटन विकास निम्ति काभ्रेको चौरी देउराली गाउँपालिका -४, गुमटी गाउँमा परम्परागत शैलीको नयाँ आयाम शुरू गरेको छ।

काभ्रे तथा चितवन जिल्लाको राप्ती-१३ कान्दामा सीमान्तकृत, गरिब तथा असहाय बालबालिकाहरूका लागि निःशुल्क संचालन गरिएको कुमार बलराम स्मृति छात्राबास परिसरमा परम्परागत सामग्रीहरूको प्रयोग गर्दै जीवन अगाडी बढाइएका जीवन्त दृश्य देख्न पाइने प्रतिष्ठानले जानकारी दिएको छ।

देश-विदेशबाट आउने अतिथिहरू लगायत विभिन्न कलेज तथा विद्यालयका युवा तथा बालबालिकाहरूलाई आमन्त्रण गरी प्रदर्शन तथा प्रयोग गर्न लगाइने सामग्रीहरू त्यहाँ राखिएको छ।

हलो जोतेर बीउ रोप्नेदेखि मोही पार्ने, घाँस काट्ने, ढिकी कुट्ने, दाउरा काट्ने, जाँतो पिँध्ने, तोरी पेल्ने, खलाँती चलाउने, दमाहा बजाउने, सहनाई, कर्णाल फुक्ने, दाइँ गर्ने, बस्तुभाउलाई घाँस काटेर खुवाउने र पशुपन्छीलाई चारा हाल्ने लगायत अभ्यासमा उनीहरू सहभागी हुन पाउनेछन्‌।

नेपालीहरूको मौलिक खानाहरू ढिंडो र रोटी (कोदो, फापर, मकै), पानी, ढुंगे,भुन्ग्रे, तावा, तैलिय, गुन्द्रुक, खोले, च्याँख्ला, जाउलो, खिचडी, मकै, भटमास, गहुँ केराउ, जुनेलो, फर्सी, सखर खण्ड, इस्कुस, चिउरा कन्दमुल, पोलेको भुटेको उसिनेको (फलफूल-सिजन अनुसार फलेका) जाम, जुश, दही, दुधदेखि लिएर मोही र महसम्म आफैँले तयार गरी खाने वातावरण बनाइएको छ।

परम्परागत शैली अपनाउँदै अत्यधिक मात्रामा आफ्नै बारीको उखुको जुश तथा खुदो प्रयोग गरिने छ। झुलो चकमकद्वारा निकालिएको आगोमा सल्काइएको दियो, दियालो वा टुकीको प्रकाशमा छाप्रोमा (टाँडमाथि वा जमीनमा) गुन्द्री र सुकुलमा सुत्ने अनुभवदेखि राडी पाखीको प्रयोगसम्म गराइनेछ।

मौसम अनुसारको खेतीमा सहभागी भएर त्यसको अनुभूति पनि लिन सकिने प्रतिष्ठानले जानकारी दिएको छ। थप मनोरञ्‍जनका लागि परम्परागत खेलकूदहरू (कबड्डी, कुस्ती, डण्डी बियो, बाघचाल, धनुषवाण, घुँयत्रो) आदि खेल्न सकिनेछ।

साथै, अन्य आनन्द लिनका लागि योगा, मेडिटेशन, झाँक्री नाच, खैजडी नाच, तामाङ सेलो (तामसालिङ क्षेत्र भएकाले), लोक नाच, दोहोरी गीतको आनन्दसहित, रोटे पिङ, लिङ्गे पिङ आदिको आनन्द लिन पाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.