|

काठमाडौं : पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ।

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए।

हाललाई एक हजार १०० देखि २७ हजार रुपैयाँ सम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ। पशुपतिनाथ मन्दिरमा एक हजार १०० देखि २५ लाख रुपैयाँ सम्मको विशेष पूजा हुने गरेको छ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो। फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने पाँच हजार १०० र ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए।

महाशिवरात्रिका दिन पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ। विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १४५ रुपैयाँ आम्दानी भएको थियो।

गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो। कोरोनाका कारण करीब ९ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि ६ करोड एक लाख ८९ हजार ४७५ रुपैयाँ आय भएको कोषाध्यक्ष थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.