प्रश्न गरे : फागुन २३ गते कुन कुर्चीमा बस्नुहुन्छ?

|

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले हिम्मत भए संसदीय दलमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर देखाउन प्रचण्ड–माधवलाई चुनौती दिएका छन्।

राष्ट्रिय युवा संघ नेपाल चितवन ओली समूहको जिल्ला कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले प्रचण्ड–माधवसँग बहुमत छ कि अल्पमत छ त्यहीँ देखाइदिने बताए।

‘बहुमत छ कि के छ, त्यहीँ देखाइदिन्छौँ हामीले’, उनले भने, ‘१५ दिन अगाडि ११० जना सांसद छन् भन्नुहुन्थ्यो। अहिले त केपी ओलीका मान्छेले फोन गर्न थाले, करोडौँ पैसा बाँड्न थाले भन्नुभाछ। बिचरा ! तपाईंहरुलाई बिचरा भन्नबाहेक केही बाँकी देख्दैनौँ।’ प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले ओली निकटका सांसदहरुलाई फोन गर्दै भेट्न बोलाउने गरेको उनले आरोप लगाए। 

प्रचण्डको दबाब र सेटिङमा निर्वाचन आयोग अलमलिने अवस्था रहेको भन्दै उनले काला कामको पछि नलाग्न प्रचण्डलाई आग्रह गरे। ‘पार्टी फुटाएर जानुभयो, मैले पार्टी फुटाए भनेर निर्वाचन आयोगमा जानुभएको छैन’, उनले भने, ‘किनभने तपाईलाई सूर्य चिह्नको माया लागेको छ। आगामी निर्वाचनमा सूर्य चिह्नबिना प्रचण्डको नाममा कुनै भोट आउनेवाला छैन, त्यही भएर लागेको माया हो।’ पार्टी एकता प्रचण्डको रहर नभएर बाध्यता भएको बताए।

फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा कुन कुर्चीमा बस्नुहुन्छ भनेर उनले प्रचण्ड–माधवलाई प्रश्न गरेका छन्। उनले प्रश्न गरे, ‘सदनमा दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष बस्छ। सत्तापक्षमा हामी बस्छौँ, पहिचान गुमेको प्रचण्ड र माधव नेपाल, आफूलाई स्वघोषित गर्ने संसदीय दलका नेताज्यू तपाईं कहाँ बस्नुहुन्छ ?’ 

संसद पुनःस्थापना भएपछि चितवनमा लड्डु खाँदै विदेशी भाषामा बधाई तथा शुभकामना दिएको प्रसंगमा उनले भने, ‘कसलाई बधाई दिनुभयो? कसलाई धन्यवाद दिनुभयो? यो कुरा नेपाली जनताले हप्तौँ दिनदेखि खोजिरहेका छन्।’ प्रधानमन्त्री केपी ओलीलाई पदच्युत गरेर पत्तासाफ गर्ने प्रचण्ड–माधवको षड्यन्त्र नेपाली जनताको कन्फर्टेबलका लागि नभएर विदेशीको कन्फर्टेबलका लागि हो भन्ने कुरा खुल्दै गएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.