|

झापा : सुन्दा अचम्म लाग्छ - खोलाको बीच बगरमा खेती।

हो, मेची नदीको किनारमा बस्ने भद्रपुरका भूमिहीन किसानले बीच बगरमा खरबुजा खेती गर्दै आइरहेका छन्।

हरेक वर्ष कात्तिकदेखि चैतसम्म यहाँका किसानहरू बगरमै रहेका हुन्छन्। मेची बगरलाई हराभरा बनाउँछन्। यही मेचीबगर नै उनीहरूको परिवारको पेट भर्ने आधार बनिरहेको छ।

बगरखेती गरी मेची किनारमा रहेका ६०–७० परिवारका २ सयभन्दा बढी स्थानीयले जीवन गुजारिरहेका छन्।

चुनावको समय गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्ने भनी आश्वासन दिने गरेका नेताहरू चुनाव जितेपछि सर्वसाधारणको घरमा फर्किने चलन नभएकै कारण भूमिहीनहरूले बाँच्नका लागि बगरको भर पर्नुपरेको हो।

भद्रपुर-५, शान्ति टोलका भूमिहीन किसानहरू मेची बगरकै भरमा बाँचिरहेका छन्। हिउँदमा अन्यत्र गएपनि जीविकोपार्जन गर्न अधिकांश समय मेचीबगरमै खेती गरिरहेको स्थानीय शंकर माझीले बताए। जीवन जीउने मुख्य आधार नै मेची बगर भएका कारण आफूहरूले सिजनमा सँधै खरबुजा लगाउँदै आएको उनले बताए।

चैत्र-बैशाख तथा गर्मीको सिजनमा मीठो र अत्याधिक बिक्री हुने भएका कारण पनि आफूहरूले बगरमा २० वर्ष अघिदेखि खरबुजा खेती गरेर परिवार पाल्दै आएको स्थानीय भूमिहीन काली महतोले बताइन्। अन्य समयमा अन्यत्र काम गर्न जाने गरेपनि कार्तिकदेखि आफूहरूले बगर सुम्सुम्याउन थाल्ने गरेको उनको भनाई छ।

आफ्नो गर्न जमिन नभएको र सँधै अरूकोमा काम नपाइने भएका कारण पनि वर्षौंदेखि आफूहरू बगरको भर पर्नुपरेको उनले बताइन्‌।

​कात्तिकदेखि चैतसम्म ६ महिना अवधिमा हरेक वर्ष बगरमा केही बिगाहा जमिनमा ४ देखि ५ हजारसम्म बिरुवा लगाइरहेको भूमिहीन किसान कनैया सनीले बताए। हरेक सिजनमा खर्च कटाएर २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले जानकारी दिए।

बगरमा खरबुजा मात्र होइन-काँक्रो, लौका, फर्सी र टमाटर लगायत सागसब्जी पनि रोपेर किसानहरूले आफ्नो परिवार पाल्दै आएको स्थानीय जात्रु राजवंशीको भनाई छ। छिमेकीहरूले झापाका मुख्य बजारलगायत विराटनगर इटहरी मात्र होइन, मेची बगरमा फलेको फलफूल र सागसब्जी संघीय राजधानी काठमाडौंसम्म पठाउने गरेको उनले बताए।

भद्रपुर–५ शान्तिटोलमा बसोबास गरिरहेका अधिकांश सर्वसाधारणसँग आफ्नो स्वामित्वमा जग्गा-जमिन छैन। जमिन नभएका कारण मेची बगरलाई जीउने आधार बनाउँदै यहाँ ६० देखि ७० परिवार बसोबास गर्दै आएका छन्‌।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.