|

हुम्ला : ताँजाकोट गाउँपालिकाको गोठालबाडा सडक सञ्जालमा जोडिएको छ।

कर्णाली करिडोर जोडिएको पैमा सिरुपाटा हुँदै ४ नम्बर वडा कार्यालयसम्म सडक विस्तार भएको हो। कर्णाली प्रदेश सरकार, ताँजाकोट गाउँपालिका र भौतिक पुर्वाधार विकास कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो।

गाउँपालिकाका अध्यक्ष बागदल मल्लले आफू निर्वाचित हुँदै गर्दा घोषणा गरिएको एक महत्वपूर्ण काम पूरा गरेको बताए। उनले भने, 'कुनै पनि ठाउँमा सडक खन्ने प्रकृया शुरू नै भएको थिएन, कर्णाली करिडोरको काम भर्खर थालिएको थियो, निकै मेहनतका साथ अधिकांश वडामा सडक जोड्न म सफल भएको छु। अझै ५ नम्बर वडा सडकमा जोडिन बाँकी छ, त्यसका लागि पनि प्रकृया अघि बढिसकेको छ।'

कुवाडी खोलाबाट गाउँपालिकाको केन्द्र छप्रेला हुँदै रामासम्म सडक पुगिसकेको छ। ३ नम्बर वडाको रामा गाउँमा डोजर लगाएर सडक खन्ने काम भैरहेको वडा नम्बर ४ का अध्यक्ष धनलाल जैसीले बताए। उनले भने, 'अब ५ नम्बर वडामा मात्र सडक पुग्न बाँकी छ, सो वडामा पनि असार मसान्तसम्म पुर्‍याउने लक्ष्य छ।' घर नजिकैसम्म सडक विस्तार भएपछि​ गाउँपालिकाका अधिकांश स्थानीयबासी खुशी भएका उनले बताए।

कुवाडीदेखि वडा नम्बर ३ को बाइगाउँ खोलासम्म १७ किलोमिटर र पैमा खोलादेखि वडा नम्बर ४ को गोडालबाडासम्म ११ किलोमिटर सडक ट्र्याक खुलाउने काम सकिएको छ। पैमादेखि सिरुपाटा हुँदै गल्लाबाडासम्म र कुवाडी खोलादेखि गाउँपालिकाको केन्द्र छप्रेलासम्म सवारीसाधन नियमित सञ्चालनमा छ।

उक्त २८ किलोमिटर सडक निर्माण गर्न कर्णाली प्रदेश सरकारको १ करोड ७५ लाख ,गाउँपालिकाको विभिन्न शीर्षकबाट २ करोड ८३ लाख, सांसद विकास कोषको ५० लाख र १२ लाख ५० हजार आरसिआइडब्लुको गरी ५ करोड २० लाख ५० हजार रुपैयाँ लगानी भएको वडाध्यक्ष जैसीले बताए। 

वडा नम्बर ५ मा सडक पुर्‍याउन २५ लाख रुपैयाँको टेण्डर भएको र अहिले दुबै सडकबाट २ वटा डोजरले त्यसतर्फ सडक खनिरहेकाले यसै आर्थिक वर्षभित्र सडक सञ्जालमा जोडिने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.