|

बझाङ : बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत १२ वटै स्थानीय तहका ३ हजार ५ सय २९ हजार युवाले सय दिन बराबरको रोजगारी पाउने भएका छन्‌।

सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा बेरोजगारलाई लगाएर उनीहरूलाई रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरिएको थियो।

यो कार्यक्रम अन्तर्गत कामदारलाई सरकारले दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने गर्छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत केन्द्रबाट ज्याला बापतको रकममात्र आउने भएकाले स्थानीय तहले दक्ष जनशक्ति र आवश्यक निमार्ण सामाग्रीका लागी बजेट छुट्याउन सके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धामीले बताए।

जिल्लामा यो कार्यक्रम अन्तर्गत कुलो, नहर, बाटो, खानेपानी निमार्ण, सामुदायिक वन संरक्षण, वृक्षारोपण, सडक मर्मत, तटबन्धजस्ता निमार्णका कामहरू हुँदै आएको छ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बुङगल नगरपालिकामा ७ सय २० जना, जयपृथ्वी नगरपालिकामा ३ सय १६ जना, केदारस्यु गाउँपालिकामा ३ सय ९ जना, थलारा गाउँपालिकामा ४ सय ६५ जना, तलकोट गाउँपालिकामा ४ सय ४ जना, दुर्गाथली गाउँपालिकामा १ सय ५६ जना, छविसपाथीभेरा गाउँपालिकामा १ सय ३६ जना, खप्तडछान्ना गाउँपालिकामा १ सय २९ जना, सुर्मा गाउँपालिकामा २ सय ४४ जना मष्टा गाउँपालिकामा २ सय ३४, साईपाल गाउँपालिकामा १ सय २९ जना र वित्थडचिर गाउँपालिकामा २ सय ८७ जना गरी जिल्ला भरी ३ हजार ५ सय २९ जनाले रोजगारी पाउनेछन्‌। 

यस आर्थिक वर्षमा मात्र स्वरोजगार कार्यक्रम अन्तर्गत करिब १७ करोड बराबरको विकास निमार्णका काम शुरू गरिएको छ‌। जयपृथ्वी नगरपालिकाका ३ सय १६ जना बेरोजगारहरूले सय दिन बराबरको कामबाट १ करोड ६३ लाख ३८ हजार रुपैयाँ पाउने भएका छन्‌। बुङगल नगरपालिकामा यस आर्थिक वर्षमा ७ सय २० जनाले ३ करोड ७२ लाख २४ हजार रुपैयाँ पाउनेछन्‌।

​यस्तै, यो कार्यक्रममा सडक निमार्ण, तटबन्ध र वडा कार्यालयमा ज्यालाको काम भइरहेको छ। काम गरे बापतको रकम सिधै उनीहरूको बैक खातामा जाने भएकाले आर्थिक अनियमितता हुने सम्भावना कम  छ।

आर्थिक वर्ष २०७७/०७८ को साउन भदौमा सबैभन्दा बढी बुंगल नगरपालिकामा ३ हजार ४ सय ३९ जना र सबैभन्दा कम साइपाल गाउँपालिकामा २ सय ५१ जनाले आवेदन दिएका थिए।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गत वर्ष विभिन्न पूर्वाधार निमार्णका कामहरू गरेको र यस वर्ष पनि पूर्वाधार विकासमै जोड दिइएको तल्कोट गाउँपालिका रोजगार संयोजक पुष्कर सिंहले बताएका छन्‌। 'योजनाहरूको दिगोपनका लागी समेत गाउँपालिकासँग सहकार्य गरेर अघि बढीरहेका छौं,' उनले भने, 'सरकारले काम गर्दा हुने घटनालाई मध्यनजर गर्दै कामदारहरूको बीमासमेत गर्ने गरेको छ  ।

वर्षभर बेरोजगार भएर बस्नुपर्दाको पीडालाई सम्झँदै जयपृथ्वी नगरपालिका वडा नं १ की पारसी सिंहले यो कार्यक्रम शुरू भएसँगै घरखर्च चलाउन सहज भएको र आफ्नै गाउँमा निमार्णको काम गर्न पाउँदा खुशी लागेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.