|

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बनाउन प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने विषयमा सकारात्मक हुन सकिने बताएका हुन्। कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ छ। 

‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरूलाई सरकार बनाउन सहयोग गर्नसक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपुर्ण हुन्छ,’ उनले भने, 'ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले दिँदैन, ओली बाहेक प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिन्छ, यसबारे पोजिटिभ हुन छलफल हुन्छ।’​

​यस्तै, पौडेलले पार्टी सभापति देउवालाई प्रधानमन्त्री बन्न सजिलो नभएको बताए। देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ, छलफल गरेर निस्कर्ष निकाल्नुपर्ने उनले बताए।

'अहिलेको स्थिति नाजुक छ, संकटपूर्ण अवस्थामा छ,’ उनले थपे, ‘संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेस बाहेक अरूले भूमिका खेल्न सक्ने हैसियत देखेको छैन।’

‘राष्ट्रपतिका थान्को लाग्न चाहन्नँ’

आफू राष्ट्रपति बनेर थान्को लाग्न नचाहेको उनले बताएका छन्।

'राष्ट्रपति पाउने आश्वासनमा प्रचण्ड–माधव समूह नजिक बन्नु भएको हो?' भन्ने पत्रकारहरूको प्रश्नमा पौडेलले बाँचुन्जेल लोकतन्त्रका लागि लड्ने बताएका हुन्।

‘बाँचुन्जेल लोकतन्त्रका लागि लड्ने मान्छे हुँ’, उनले भने, ‘म राष्ट्रपतिमा थान्को लाग्ने मान्छे होइन। प्रथम राष्ट्रपति हुनबाट छाडेको मान्छे हो।’

लोकतन्त्रको रक्षाका लागि आफूले प्रधानमन्त्री पद समेत नलिएको उनले दाबी गरे। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर पार्टीको महाधिवेशनलाई कुनै असर नपर्ने उनले स्पष्ट पारे।

अहिलेको राजनीतिमा दोषी ओली नै रहेको भन्दै उनले थपे, ‘केपी ओली बाहेक अरूसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्छ।’ आज बस्ने कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रीय समितिको बैठक बोलाउन प्रस्ताव राख्ने उनले बताए। 

‘निर्वाचन आयोग कर्तव्यच्यूत’

नेता पौडेलले निर्वाचन आयोग आफ्नो कर्तव्यबाट पदच्युत भएको आरोप लगाएका छन्।

नेकपा विवाद सल्टाउने विषयमा आयोगले नेताहरूको मुख हेरेर बसेको भन्दै उनले संवैधानिक निकाय कसैको मुख हेरेर बस्न नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.