|

दैलेख :  जिल्लाको आठबीस नगरपालिका–३ कुमालखाडा गाउँमा तरकारी खेतीतर्फ महिलाको आकर्षण बढेको छ। चुलो-चौकोमै सीमित यहाँका महिलाहरू व्यावसायिक तरकारी खेतीतर्फ जुटेका हुन्। 

तरकारी परम्परागत गुजारामुखी खेतीपाती गर्ने प्रचलनले वर्षभरि खान नपुग्ने र सानोतिनो खर्चका लागि अरूकै मुख ताक्नुपर्ने अवस्थाबाट मुक्त हुन आफूहरू व्यवसायिक तरकारी खेतीमा लागिपरेको यहाँका महिलाहरू बताउँछन्। 

स्थानीय सपना शाही भन्छिन्, ‘अहिले टमाटर, काउली, आलु बन्दा खेती गरिरहेका छौँ, तरकारी खेतीबाट आम्दानी बढ्न थालेपछि खुसी छौँ।’ उनले गाउँका धेरै महिलाहरूले समूहमार्फत तरकारी खेती गरिरहेको बताइन्। 

यही गाउँकी नानी कार्कीको दिनचर्या आजभोली बारीमै बित्ने गर्छ। हाल उनी बारीमा लगाएको तरकारी खेतीको स्याहार सुसार गर्नेगर्छिन्‌। उनले टमाटर र आलु लगायतका तरकारी लगाएकी छिन्‌।

मलजल राम्रो भयो भने तरकारी उत्पादन बढ्छ भन्ने उनले बुझेकी छिन्। तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेको उनी बताउँछिन्। आफूले खाएर बचेको तरकारी बिक्री गरेर हुने गरेको आम्दानीले घरखर्च चलाउन सहज भएको उनको भनाई छ।

रोजगारीका लागि भारत जाने यहाँका पुरुषहरू समेत अहिले गाउँमा फर्केर तरकारी लाग्न थालेका छन्‌। स्थानीय धना कार्कीका श्रीमान यसअघि बालबच्चा पढाउन र घर खर्चको जोहो गर्ने भारत जाने गरेकोमा अहिले गाउँमै तरकारी खेती गरिरहेका छन्‌। 

गाउँमा काम नपाइने, आय स्रोतको अन्य माध्यम नहुँदा उनलाई काला पहाड (भारत) मा काम गर्न जानु पर्ने बाध्यता थियो। पछिल्लो समय धना कार्कीका श्रीमानलाई घर खर्चको जोहो गर्न बाहिरी मुलुक जानुपर्ने बाध्यता हटेको छ।

डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्वारा सञ्चालित साकार परियोजनाको सहजिकरणमा यहाँका महिलाहरू तरकारी खेतीमा जोडिएका हुन्। परियोजनाको सहजीकरणमा स्थानीय महिलाहरूलाई व्यवसायिक तरकारी खेतीमा अग्रसर गराइएपछि स्थानीयले आफ्नै गाउँमा आम्दानीको जोहो गर्न थालेका हुन्। 

परियोजनाले किसानहरूलाई मौसमी र बेमौसमी तरकारीका बीउ, पोली हाउस, सरल थोपा सिँचाइ र गार्डेन पाइप सहयोग गर्दै आएको छ। बाख्रा पालन गर्ने किसानहरूलाई बाख्रा सहयोग गरिएको छ भने व्यवसायिक तरकारी खेती गर्ने किसानहरूलाई प्राविधिक सहयोग प्रदान गरिएको छ। परियोजनाले किसानहरूलाई सिँचाइको सुविधा समेत पुर्‍याएको बताएको छ।

यहाँ दुई वटा कृषक समूहका ४० जना कृषकहरू तरकारी खेती गरिरहेका छन् भने ८ जनाले बाख्रा पालन गरिरहेका छन्। तरकारी खेती गर्नेमा अधिकांश महिला छन्। ‘पहिलेका दिनमा कमाउने माध्यम अरू केही थिएन, परिवारको गर्जो टार्न कामको खोजीमा भारत लगायतका अन्य मुलुकमा भौँतारिनुपर्ने बाध्यता थियो, स्थानीय सरकार आएपछि विभिन्न सामाजिक संस्थाहरूको सहयोगमा कृषि कर्ममा लागेर आफनै ठाउँमा आम्दानी गर्दै आएका छु,’ स्थानीय धर्मराज कार्कीले भने।

अहिले कृषकले बारीमा काउली, बन्दा र टमाटर लगायतका तरकारीहरू उत्पादन गर्दै आएका छन्। एउटै सिजनमा तरकारी बेचेर १२ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको स्थानीय महिला शान्ति सिजापतिले बताइन्‌।

‘मैले पहिलोपटक एउटै गरामा उत्पादन भएको तरकारी बिक्री गरेर १० हजार रुपैयाँ कमाइसकेको छु, अझै २० हजार रुपैयाँ जतिको तरकारी बिक्री गर्न बाँकी छ,’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.