|
फाइल फोटो ।

जुम्ला : जुम्ली मार्सी चामल र अर्ग्यानिक सिमी लगायत कृषि वस्तुका माग अन्तरराष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ।

जिल्लाबाट पहिलोपटक ६ लाख रुपैयाँभन्दा बढीका सामग्री जापानतर्फ निर्यात भएको छ। अर्ग्यानिक एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन्।

व्यावसायिक रूपमा कर्णालीका खाद्यान्न अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए। उनले भने, 'टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ।'

कर्णालीका कृषि वस्तुको व्यावसायिक रूपमा पहिलोपटक निर्यात भएको यहाँका स्थानीयवासी बताउँछन्। कर्णालीका किसानको जीवनस्तर उकास्नेसँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तरराष्ट्रिय बजारमा चिनाउन सफल भएको छ।

क्यानडामा पनि पठाइँदै

बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ।

१५ टन मार्सी, चार टन सिमी, हरियो केराउ र कोदो गरेर एक टन क्यानडामा माग भएको सञ्चालक शाहीले बताए। क्यानडास्थित लायम फुड कर्पोरेसनका डा पूर्ण कँडेलको समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ।

ती सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने सुपरफुडले जनाएको छ। अहिले प्याकेजिङ भइरहेको छ। क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उनले बताए। 'जापानका लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्', उनले भने, 'क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ।'

काठमाडौँको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अर्ग्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्‍बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.