समिति भन्छ : सबै ठाउँमा ट्रिटमेन्ट प्लान्ट बनेपछि मात्रै पानी सफा हुन्छ

|

काठमाडौं : अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको उद्देश्य थियो –प्रदूषित नदीमा कञ्चन पानी बगाउने।

विकास समितिले २०७० जेठ ५ गतेबाट नागरिक सफाइ अभियान सञ्चालन पनि गर्‍याे। अहिलेसम्म बागमती सफाइ अभियान चार सय ७ औं हप्ता पुगिसकेको छ।

तर, बागमती नदीको रूप भने अझै फेरिन सकेको छैन। अहिले पनि नदीमा लेदोसँगै पानी बगिरहेको देखिन्छ। पानीको दुर्गन्धले खोला आसपास सर्वसाधारणले नाक थुन्दै हिँडिरहेका छन्।

किन बागमती सफा हुन सकेन त?

बागमती नदी सफाइ अभियान थालिएको सात वर्ष पुग्दा पनि पानी सफा नभएको विषयमा विकास समितिका सूचना अधिकारी कमल अर्याल भन्छन्, ‘हामी हप्ताको प्रत्येक शनिबार दुई घण्टा सफाइ अभियान सञ्चालन गर्छौं। तर, स्थानीय चेतनशील नहुँदा नदीमै फोहोर फाल्छन्। झार उखेल्दै जाँदा यता उम्रिँदै जान्छ। त्यसैले सफा गरेजस्तो नदेखिएको हो।’ 

सफाइमा डेढ सय कर्मचारी परिचालन गर्दा पनि सडक विभागको लापारबाहीले नदी फोहोर हुने गरेको उनले तर्क गरे। ‘वर्षातका बेला सडक विभागले सडक विस्तारका लागि ढल बागमती नदीमा हालिदिन्छ,’ उनले भने, ‘सबै जिम्मेवारी भएमात्रै सफा गर्न सकिने रहेछ। लिकुइट वेष्टमेन्टको व्यवस्थापन गरिए मात्रै बागमती सफा देखिन्छ।’ सरकारले सुकुमबासी बस्तीलाई व्यवस्थित गर्न नसक्दा पनि बागमती सफाइमा समस्या देखिएको उनले बताए। 

सफाइ खर्चको हिसाब समितिले राखेन

सूचना अधिकारी अर्यालले सफाइमा मात्रै कति खर्च भयो भन्ने हिसाब नभएको बताए। उनले भने, ‘सफाइमा कति खर्च भयो भन्ने वार्षिक विवरण नै राखिएको छैन रहेछ। यो वर्षदेखि हिसाब राख्छौँ।’ उनका अनुसार मास्क पञ्जालगायत आवश्यक सामग्री समितिले खरिद गर्दै आएको छ। 

समितिको स्थापनादेखि हालसम्म विभिन्न शीर्षकमा ११ अर्ब ९२ करोड ४५ लाख ५९ हजार एक सय ३६ खर्च भएको भने उनले जानकारी दिए। भने, ‘यो कार्यालय स्थापना भएदेखि हाल सम्मको खर्च विवरण हो। कार्यालय सञ्चालनदेखि विकास गर्दा र सरसफाइ गर्दा लागेको एकमुष्ठ खर्च हो।’

महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिन आउँदो फागुन २२ र २९ गतेको बागमती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने उनले जानकारी दिए।

सर्वसाधारण भन्छन्, समितिले कडाइ नगर्दा नदी सफा भएन

पशुपतिको गुहेश्वरीका बस्दै आएका बनेपाका कुशुम चौलागाईं समितिले कडीकडाउ नगर्दा नदीको रूप नफेरिएको बताउँछिन्। ‘नदी सफाइ अभियान सञ्चालन गरेको धेरै वर्ष भैसक्यो,’ उनले भनिन्, ‘खै अहिले हेर्दा सफाइ गरेको जस्तो देखिन्न। जस्ताको त्यस्तै छ। नदीमा जोसुकैले फोहोर फाल्छन्। उनीहरुलाई कारबाहीको दायरामा ल्यायो भने थोरै भए पनि नदी सफा देखिन्थ्यो।’

समितिले व्यवस्थित ढंगबाट ढल व्यवस्थापन गर्न नसकेर पनि नदी सफा हुन नसकेको उनले बताइन्। ‘सफाइ भन्दै यसमा करौडौँ बजेट सकिसक्यो होला। एउटा ट्रिटमेन्ट प्लान्टबाहेक अरु देख्दिनँ। अनि कसरी ढल प्रशोधन गरेर नदीमा पानी फाल्छन्?, ’उनले भनिन्। 

‘सबै ठाउँमा ट्रिटमेन्ट प्लान्ट बनेपछि मात्रै पानी सफा हुन्छ’

विकास समितिका सूचना अधिकारी अर्यालले गुहेश्वरीमा मात्रै नभई विष्णुमती, धोबीघाट,सुन्दरीघाटमा ट्रिटमेन्ट प्लान्ट निर्माण भइसकेपछि मात्रै बागमती नदीको रूप फेरिने बताए।

उनले भने, ‘गोकर्णदेखि गुहेश्वरीसम्मको ७.२ किमि बागमती नदीको लागि ढल प्रशोधन गर्ने ठाउँ गुहेश्वरीमा छ। यहाँबाट प्रशोधन भई बगेको पानी विष्णुमती,धोबीघाटमा पुगेपछि प्रदूषित पानीमा मिसिन्छ। त्यसैले त्यस ठाउँहरुमा तीन वटा ट्रिटमेन्ट प्लान्ट निर्माण हुँदै छ। टुकुचाको टेन्डर भइसकेको छ। यी सबै निर्माण भइसकेपछि पानी सफा हुनेछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.