|

धनकुटा :  बालीबिरुवामा रोग किराको प्रकोप बढिरहँदा धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्र निष्क्रिय देखिएको छ।

किसानहरूले लगाएको अन्नबालीमा लागेको रोगका कारण बीउ समेत नपाइने अवस्था निम्तिएपनि केन्द्रमा न बालीविज्ञ छन्‌, न त अनुसन्धाता नै। कुनै बेला कृषि बालीमा समस्या आए किसानको खेतबारीमै गएर समस्या समाधान गर्ने गरेको कृषि अनुसन्धान केन्द्र पाख्रीबासमा अहिले किसानलाई सल्लाह दिने प्रविधिकसमेत उपलब्ध छैनन्।

दरबन्दीका वैज्ञानिक र प्राविधिक अधिकृत घर पायक र सुगम ठाँउमा सरुवा हुने प्रवृत्ति बढेपछि अनुसन्धान केन्द्रले तोकेको लक्ष्यअनुसार काम गर्न नसकेको हो। केन्द्रमा अहिले दरबन्दीका वैज्ञानिक र प्राविधिक अधिकृत छैनन्‌। काम ठप्प छ।

केन्द्रले पहाडी क्षेत्रमा माटो सुहाउँदो  अन्न, तेलहन, दलहन, मसला, बाख्रा, बंगुर र कुखुराको प्रजातिमाथि अनुसन्धान र प्रविधि विकास गर्ने जिम्मा पाएको छ।

अनुसन्धान केन्द्रमा जम्मा प्राविधिक र प्रशासन गरी जम्मा ८५ जनाको दरबन्दी रहेकोमा २९ जनामात्र कार्यरत  छन्‌। जम्मा एकजना कृषि वैज्ञानिक छन्‌। तर, दरबन्दी १९ जनाको छ।

त्यस्तै, प्राविधिक अधिकृतमा १७ दरबन्दी रहेकोमा ४ जना मात्र कार्यरत छन्‌। अनुसन्धान कार्य गर्न केन्द्रमा वैज्ञानिक र प्राविधिकहरू अनिवार्य रहनुपर्ने भएपनि हालत खराब छ।


अवकाश प्राप्त गोर्खा सैनिकलाई कृषि सम्बन्धि तालिम दिन बेलायत सरकारको पूर्ण अनुदानमा वि. सं. २०२८ सालमा केन्द्र स्थापना भएको थियो। केन्द्रले पाख्रीबास कालो बंगुर, खरी र बोयर जातको बाख्रा, ६ जातका कुखुरामाथि अनुसन्धान र प्रविधि विकासको काम गरिरहेको छ।

तर, दरबन्दी अनुसार जनशक्ति नहुँदा अनुसन्धान र प्रविधि विकास प्रभावित भएको छ। यस्तै, किसानलाई समस्या परेका बेला सल्लाह दिन प्राविधिक समेत उपलब्ध छैनन्‌।

केन्द्रका प्रमुख डा. गोविन्द तिम्सिनाका अनुसार कुनै पनि प्रविधि विकास गर्न अनुसन्धान आवश्यक हुन्छ, तर अनुसन्धानका लागि दक्ष जनशक्ति नै नभएपछि अनुसन्धान नै सम्भव नभएको उनी बताउँछन्‌। दरबन्दी अनुसारका प्राविधिक नहुँदा अनुसन्धानमा धेरै असर परेको उनले बताए।

कुनै बेला अनुसन्धानका लागि पूर्वकै मोतीको रुपमा रहेको पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा तालुकवाला निकाय र समृद्धिको नारा दिएर नथाक्ने सरकार भने दिनदिनै उदासिन भइरहेको देखिन्छ।

डा. तिम्सिनाका अनुसार कतिपय अनुसन्धानकर्मीहरू घरपायक रोजेर जाने गरेका छन्‌। शक्ति केन्द्रमा पहुँच पुर्‍याएर काजमा अन्तै केन्द्रतिर जाने भएका कारण पनि अनुसन्धानकर्मी अभाव भएको उनले बताए।

हाल काठमाडौं लगायतका विभिन्न स्थानमा धराने कालो बंगुर भनेर नाम कहलाउन सफल भएको धराने बंगुर खासमा कृषी अनुसन्धान केन्द्र पाख्रीबासमा अनुसन्धान गरिएको थियो। यसैगरि गिरिराज कुखुराको सफल अनुसन्धान गरी केन्द्रले नै बजारमा ल्याएको थियो। 

हाल यस क्षेत्रमा नयाँ प्रजातिका एभोकाड र किवी लगायतका फलफूलहरू कृषकस्तरमा लोकप्रिय भइरहेको छ। यसको पनि केन्द्रमा अनुसन्धान जारी छ। तर, अनुसन्धानकर्मी नभएकै कारण उदेश्य अनुसार उपलव्धी हासिल हुन सकेको छैन।

त्यसो त कालो सुन भनेर चिनिएको, अनि यस क्षेत्रको आर्थिक स्थिती सुधारका लागि बलियो साझेदार बनेको अलैंची रोग कृषकहरूको चिन्ताको विषय बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.